मुक्तिनाथ विकास बैंकको ऋण आवेदन अब अनलाइनबाटै ट्र्याक गर्न सकिने

लोकपथ
0
Shares

काठमाडौं । मुक्तिनाथ विकास बैंकमा ऋणका लागि आवेदन दिएका ग्राहकले अब घरमै बसेर आफ्नो आवेदनको अवस्था थाहा पाउन सक्ने भएका छन् । बैंकले ऋण आवेदनको प्रगति अनलाइनबाटै हेर्न मिल्ने गरी ‘लोन एप्लिकेसन ट्र्याकिङ’ सेवा सुरु गरेको हो ।

नयाँ सेवामार्फत ग्राहकले आफ्नो ऋण आवेदन मूल्यांकन र स्वीकृतिको कुन चरणमा पुगेको छ भन्ने जानकारी डिजिटल माध्यमबाट प्राप्त गर्न सक्नेछन् । यसका लागि ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा गएर आफ्नो मोबाइल नम्बर र लोन एप्लिकेसन ट्र्याकिङ आईडी राख्नुपर्नेछ ।

त्यसपछि ग्राहकले जुनसुकै समय र स्थानबाट आफ्नो ऋण आवेदनको अवस्था हेर्न सक्ने बैंकले जनाएको छ । यसअघि ऋण आवेदनको प्रगति बुझ्न बैंकको सम्बन्धित शाखामा पुग्नुपर्ने वा फोन गरेर जानकारी लिनुपर्ने बाध्यता थियो ।

नयाँ सेवाले ग्राहकको समय बचत गर्नुका साथै ऋण प्रक्रियालाई सहज र पारदर्शी बनाउने बैंकको विश्वास छ । साथै, ऋण आवेदन स्वीकृत भएपछि सम्बन्धित ग्राहकलाई एसएमएसमार्फत तत्काल जानकारी दिने व्यवस्था पनि गरिएको छ ।

बैंकले डिजिटल प्रविधिमा आधारित सेवा विस्तारलाई प्राथमिकता दिँदै आएको जनाएको छ । ग्राहकको आवश्यकता र आधुनिक बैंकिङ अभ्यासअनुसार सेवा प्रक्रियालाई थप सहज, छिटो र ग्राहककेन्द्रित बनाउने उद्देश्यले नयाँ सेवा सुरु गरिएको बैंकको भनाइ छ ।

‘जनता बैंकमा होइन, बैंक जनता माझ जानुपर्छ’ भन्ने मूल मान्यताअनुसार ग्राहकलाई सहज, सुरक्षित र आधुनिक बैंकिङ सुविधा उपलब्ध गराउन डिजिटल सेवाको विस्तारलाई निरन्तरता दिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?