काठमाडौं । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि भोलि बुधबार प्रारम्भिक सुनुवाइ गर्ने भएको छ । बुधबार एक न्यायाधीशको इजलासमा कार्कीको निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुनेछ ।
कात्तिक २० गते दर्ता भएको रिट निवेदनमाथि भोलि पहिलोपटक सुनुवाइ हुन लागेको हो । सर्वाेच्चले यसअघि सुनुवाइका लागि तिहार बिदापछि कात्तिक ३० गते सुनुवाइको मिति तोकेको थियो । तर सरकारले त्यो दिन छठको बिदा दिएकाले मुद्दाको सुनुवाइ स्वतः सरेको थियो ।
तिहार र छठ बिदापछि मंगलबार अदालत खुलेपछि सर्वोच्च अदालत प्रशासनले बुधबारका लागि प्रारम्भिक सुनुवाइको मिति तोकेको हो ।
सरकारले कात्तिक १८ गते प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो । त्यही दिन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई आईजीपी बढुवा गरिएको थियो ।
कार्कीले प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ विपरीत आफूलाई पदबाट हटाइएको भन्दै महानिरीक्षक पदमा पुनर्बहालीका लागि र नवनियुक्त महानिरीक्षकलाई कामकाज नगर्न अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन् । मन्त्रिपरिषदको निर्णय गैरकानुनी भएको र त्यसले आफूलाई अन्याय भएको दावीसहित कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका हुन् ।
कार्कीले मन्त्रिपरिषदले निर्णय गरेकै दिन सल्लाहकारको नियुक्ति बुझिसकेको गृह मन्त्रालयले दाबी गरेको छ । तर कार्की निकट व्यक्तिहरुका अनुसार, गृह मन्त्रालयको दाबीमा कुनै सत्यता छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया