अमेरिकामा हवाई उडान प्रतिबन्ध हट्यो, १३ हजारभन्दा बढी उडान प्रभावित

लोकपथ
0
Shares

काठमाडौं । अमेरिकामा हवाई यातायात नियन्त्रण प्रणालीमा आएको प्राविधिक समस्याका कारण लगाइएको देशव्यापी हवाई उडान प्रतिबन्ध हटाइएको छ । अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले शुक्रबार राति प्रतिबन्ध हटाएपछि देशभरका विमानस्थलबाट उडान पुनः सुरु भएका छन् ।

तर प्रतिबन्ध हटे पनि हवाई सेवा अझै सामान्य हुन सकेको छैन। सञ्चार प्रणालीमा आएको खराबीका कारण १३ हजारभन्दा बढी उडान प्रभावित भएका छन् । हजारौँ उडान ढिला भएका छन् भने धेरै उडान रद्द भएका छन्। यसका कारण विभिन्न विमानस्थलमा यात्रु अलपत्र परेका छन् ।

अमेरिकी यातायात सचिव सिन डफीका अनुसार देशभरका हवाई यातायात नियन्त्रण केन्द्रमा सञ्चारसम्बन्धी समस्या देखिएपछि यात्रुको सुरक्षालाई ध्यानमा राख्दै उडान रोक्ने निर्णय गरिएको थियो ।

नोभेम्बर १३ शुक्रबार एफएएले अमेरिकाका सबै विमानस्थलबाट हुने उडान अस्थायी रूपमा रोक्न निर्देशन दिएको थियो । आकाशमा उडिरहेका विमानलाई भने सुरक्षित रूपमा अवतरण गर्न अनुमति दिइएको थियो ।

अधिकारीहरूका अनुसार अमेरिकाको हवाई यातायात नियन्त्रण प्रणालीमा प्रयोग भइरहेका पुराना उपकरणका कारण समस्या आएको प्रारम्भिक अनुमान गरिएको छ । पुराना स्विच, राउटर तथा सञ्चार उपकरणमा धेरै डेटा प्रवाह हुँदा प्रणालीले काम गर्न छाडेको बताइएको छ ।

अमेरिकी गृहमन्त्री मार्कवेन मुलिनले पनि सञ्चार प्रणालीमा आएको खराबीका कारण समस्या भएको प्रारम्भिक जानकारी दिएका छन् । उनले साइबर आक्रमण वा बाह्य हस्तक्षेप भएको प्रमाण भने अहिलेसम्म नभेटिएको बताएका छन् । घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।

उडान रोकिएपछि न्युयोर्क, सिकागो, सानफ्रान्सिस्को, लस एन्जलस र डलासलगायतका प्रमुख विमानस्थलमा यात्रुको भीड बढेको थियो । यात्रुले लामो समय विमानस्थलमै प्रतीक्षा गर्नुपरेको थियो । केही विमानलाई वैकल्पिक विमानस्थलमा अवतरण गराइएको थियो ।

एफएएले उडान सञ्चालनको अनुमति दिए पनि विमान र चालक दलका सदस्य निर्धारित स्थानमा नहुनु तथा रद्द भएका उडानको व्यवस्थापन गर्नुपर्ने भएकाले सेवा सामान्य हुन समय लाग्ने बताइएको छ । सप्ताहन्तसम्म पनि उडान ढिलाइ र रद्द हुने क्रम जारी रहन सक्ने अधिकारीहरूले चेतावनी दिएका छन् ।

अमेरिकामा सन् २००१ सेप्टेम्बर ११ को आतंकवादी आक्रमणपछि देशव्यापी रूपमा उडान रोकिएको यो दोस्रो ठूलो घटना हो । यसअघि सन् २०२३ जनवरीमा एफएएको उडान सूचना प्रणालीमा समस्या आएपछि पनि अमेरिकाभरका आन्तरिक उडान केही समय रोकिएका थिए ।

यस घटनापछि अमेरिकी हवाई यातायात नियन्त्रण प्रणालीमा प्रयोग भइरहेको पुरानो प्रविधि र पूर्वाधारको अवस्थाबारे पुनः प्रश्न उठेको छ । यातायात सचिव डफीले हवाई यातायात नियन्त्रण प्रणालीलाई आधुनिक बनाउन थप लगानी आवश्यक रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?