भक्तपुरको प्रजापति कम्प्लेक्समा आगलागी, ८० लाखको क्षति

लोकपथ
0
Shares

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि–९ राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी हुँदा करिब ८० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

कम्प्लेक्सको सातौँ तलामा रहेको ‘द ट्रयाङ्कुली टाइम्स स्पा एण्ड वेलनेस प्रालि’ मा आज बिहान विद्युत् सर्ट भएर आगलागी भएको हो ।

बिहान करिब ८ बजे कम्प्लेक्सका सञ्चालक कुमार प्रजापतिले पसल खोल्ने क्रममा धुवाँको मुस्लो देखेपछि दमकल र प्रहरीलाई खबर गरेका थिए ।

आगलागीबाट स्पामा मात्रै करिब ६० लाख रुपैयाँ बराबरको भौतिक सम्पत्ति नष्ट भएको स्पाका सञ्चालक नरेश रञ्जितले जानकारी दिए । पाँच वर्षदेखि सञ्चालनमा रहेको स्पाले आगलागीका कारण ठूलो क्षति व्यहोर्नुपरेको उनले बताए ।

त्यस्तै, कम्प्लेक्समा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको सञ्चालक प्रजापतिले जानकारी दिए । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार कम्प्लेक्स र स्पामा गरी कुल ८० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।

आगलागी भएको करिब डेढ घण्टापछि जुद्ध बारुण यन्त्र भक्तपुर, सशस्त्र प्रहरी बलको औद्योगिक सुरक्षा बेस ब्यासी, प्रहरी वृत्त थिमि र नेपाली सेना रणशेर गण सूर्यविनायकको टोलीले आगो नियन्त्रणमा लिएको थियो ।

आगलागी बिहानको समयमा भएकाले मानवीय क्षति भने हुन नपाएको प्रहरी उपरीक्षक खड्काले बताए । अग्लो भवनको माथिल्लो तलामा आगलागी भएकाले दमकलबाट पानीको फोहोरा माथिसम्म पुर्‍याउन केही कठिनाइ भएको उनको भनाइ छ ।

जुद्ध बारुण यन्त्र भक्तपुरका प्रमुख विजय धौभडेलले अग्ला भवनमा हुने आगलागी नियन्त्रणका लागि ड्रोन प्रविधि भित्र्याउन आवश्यक रहेको बताए । उनले यस्ता घटनामा प्रभावकारी रूपमा आगो नियन्त्रण गर्न सरकारले नयाँ प्रविधिको प्रयोगमा जोड दिनुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?