चीन भ्रमणमा जान लागेका रास्वपा सांसदलाई प्रधानमन्त्रीको निर्देशन- ‘नेपालको हित हुने काम गर्नुस्’

लोकपथ
28
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूलाई नेपालको हित र दुई देशबीचको सम्बन्ध सुदृढ बनाउने विषयमा केन्द्रित हुन निर्देशन दिएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार भएको भेटमा प्रधानमन्त्री शाहले चीन भ्रमणका क्रममा नेपालले लिन सक्ने लाभका विषयमा काम गर्न सांसदहरूलाई निर्देशन दिएका हुन् ।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री शाहले चीनबाट नेपालले प्रविधि, व्यापार, पर्यटन तथा कृषिको आधुनिकीकरणका क्षेत्रमा लाभ लिन सक्ने विषयमा छलफल गरेको जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री शाहले भ्रमणलाई घुमघाममा मात्र सीमित नगरी नेपालको हित हुने विषयमा केन्द्रित हुन आग्रह गरेका छन् ।

बुर्लाकोटीले भने, ‘प्रधानमन्त्रीज्यूसँग छलफल भएको छ । उहाँले भ्रमणका क्रममा चीनबाट नेपालले लिन सक्ने लाभका विषयमा काम गर्न निर्देशन दिनुभएको छ । चीनबाट नेपालले प्रविधि, व्यापार, पर्यटन तथा कृषिको आधुनिकीकरणका क्षेत्रमा लाभ लिन सक्छ । भ्रमण घुमघाम मात्रै नहोस्, नेपालको हितलाई प्रगाढ बनाउने विषयमा काम गर्नुस् भन्नुभएको छ ।’

रास्वपाका संसदीय दलका सदस्य तथा पार्टी नेताहरू यही कात्तिक २९ गतेदेखि १० दिनका लागि चीन भ्रमणमा जाँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?