टर्किए । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय वार्तामा नेपालको भूमिका प्रभावकारी बनाउन थप तयारी र कूटनीतिक प्रयास गरिने बताएका छन् ।
संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का क्रममा मन्त्री खनालले जलवायु परिवर्तनका मुद्दामा नेपालले आफ्नो धारणा बलियो रूपमा राख्न निरन्तर प्रयास गर्नुपर्ने बताए ।
उनका अनुसार कोप सम्मेलनमा सबै निर्णय सहभागी राष्ट्रको सहमतिमा हुने भएकाले नेपालले उठाएका विषयलाई साझा एजेन्डा बनाउन चुनौती छ । विभिन्न देशका आ–आफ्नै स्वार्थ र प्राथमिकता हुने भएकाले सहमति जुटाउन लामो समय लाग्ने उनले बताए ।
मन्त्री खनालले नेपालले उठाएका विषयलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सम्मेलनभन्दा धेरै अगाडिदेखि तयारी गर्नुपर्ने र विभिन्न सरोकारवालाको सहभागिता आवश्यक हुने बताए ।
नेपालले पहिलोपटक पर्वतीय क्षेत्रका मुद्दालाई कोपको औपचारिक कार्यसूचीमा राख्ने प्रयास गरेको उनले जानकारी दिए । तर, कुनै देशले प्रस्ताव गरेको विषयलाई औपचारिक कार्यसूचीमा समावेश गर्न सबै पक्षको सहमति आवश्यक पर्ने उनको भनाइ छ ।
नेपालको पर्वतीय एजेन्डा औपचारिक कार्यसूचीमा समावेश हुन नसके पनि सम्मेलनको अध्यक्षताले परामर्शमार्फत त्यस विषयमा छलफल अघि बढाइरहेको उनले बताए ।
नेपालले उठाउँदै आएका १.५ डिग्री सेल्सियस तापक्रम वृद्धि सीमित गर्ने लक्ष्य, अनुदानमा आधारित र अनुमान गर्न सकिने जलवायु वित्त तथा पर्वतीय क्षेत्रमा केन्द्रित अनुसन्धान र कार्ययोजनामा सकारात्मक प्रगति भइरहेको मन्त्री खनालले बताए ।
त्यस्तै, पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे विशेष अध्ययन र अनुसन्धान गर्ने तथा ‘माउन्टेन वर्क प्रोग्राम’ स्थापना गर्ने विषयमा पनि छलफल भइरहेको उनले जानकारी दिए ।
यस्तो कार्यक्रम स्थापना भएमा पर्वतीय क्षेत्रमा जलवायु वित्त, अनुसन्धान र जलवायु परिवर्तनसँग जुध्न अपनाउनुपर्ने उपायलाई एकीकृत रूपमा अघि बढाउन सहयोग पुग्ने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया