काठमाडौं । बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने सडकमा रातिको समयमा सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । उक्त सडकखण्डमा दुर्घटना बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी सञ्चालनका लागि समय निर्धारण गरेको हो ।
नयाँ व्यवस्थाअनुसार काठमाडौंबाट बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक सार्वजनिक सवारीसाधन बेलुका ८ बजेसम्म फर्पिङ प्रहरी चेकपोस्ट पुगिसक्नुपर्नेछ ।
त्यस्तै, बिहान ५ बजेपछि मात्र बल्खुबाट उक्त सडकखण्डमा यात्रुवाहक तथा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न पाइनेछ । सवारीसाधनको अवस्था र प्राविधिक पक्ष राम्रोसँग जाँच गरेपछि मात्र सञ्चालन गर्न प्रशासनले निर्देशन दिएको छ ।
प्रशासनले उक्त सडकखण्डमा पर्ने प्रहरी कार्यालय र ट्राफिक प्रहरीलाई यात्रुवाहक सवारीसाधनको अनिवार्य जाँच गर्न पनि निर्देशन दिएको छ ।
सडक साँघुरो हुनु, सवारीसाधनको अवस्था कमजोर हुनु, चालकको लापरवाही, तीव्र गति र सडकमा धेरै घुम्ती तथा भिरालो भाग हुनुले दुर्घटनाको जोखिम बढाएको प्रशासनले जनाएको छ ।
रातिको समयमा सडक अँध्यारो हुने भएकाले यात्रु, चालक र सवारीसाधनसमेत जोखिममा पर्ने प्रशासनको भनाइ छ ।
एकै दिनमा धेरै पटक ओहोरदोहोर गर्नुपर्ने दबाबका कारण चालकमा अत्यधिक थकान र निद्राको समस्या देखिने गरेको छ । यस्ता कारणले उक्त सडकमा पटक–पटक गम्भीर दुर्घटना हुने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया