मिथिलाञ्चलमा सुरु भयो सामाचकेवा पर्व, दाजुभाइको दीर्घायुको कामना गरिँदै

लोकपथ
0
Shares

जनकपुरधाम । दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीयताको प्रतीक मानिने सामाचकेवा पर्व मिथिलाञ्चलमा सुरु भएको छ ।

कार्तिक शुक्ल पञ्चमीदेखि सुरु हुने यो पर्व १० दिनसम्म मनाइन्छ । पर्वको एघारौँ दिन अर्थात् पूर्णिमाको रात सामाचकेवाको विसर्जन गर्ने परम्परा छ ।

यस पर्वमा दिदीबहिनी, छोरीबुहारीले सामूहिक रूपमा नाचगान गर्दै दाजुभाइको सुख, समृद्धि र दीर्घायुको कामना गर्छन् । पर्वका जानकार पण्डित रामकुमार शास्त्रीका अनुसार पहिलो दिन दिदीबहिनीहरू समूह बनाएर परम्परागत गीत गाउँदै गाउँबाहिरका खेत तथा भिरमा पुग्छन् । त्यहाँ दाजुभाइको हातबाट खनिएको माटो ल्याएर विभिन्न आकृतिका सामा र चकेवा बनाउने चलन छ ।

रातो रङको बाँसको डालामा सामाचकेवा सजाएर दियो बाल्ने र राति गाउँका चोक, दोबाटो, चौबाटो, विद्यालय, धर्मशाला, मन्दिर तथा छठघाटमा लगेर नाचगान गर्ने गरिन्छ । यसरी १० दिनसम्म सामाचकेवा खेल्दै दिदीबहिनीहरूले दाजुभाइको दीर्घायुको कामना गर्छन् ।

पर्वका अवसरमा महिलाहरूले ‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हातदश पोखरी खुनाई दिय, चम्पा फूल लगाइदिय’ र ‘सामचको सामचको ऐहा हो, ऐहा हो, गुँढ खेतमे भसिया हो’ लगायतका परम्परागत गीत गाउने गर्छन् ।

पर्वको अन्तिम दिन बिहानै सामाचकेवाका आकृतिलाई पुनः बनाएर रङ्गरोगन गरिन्छ । साँझ दाजुभाइलाई दहीचिउरा खुवाउने र परम्पराअनुसार फाँर भर्ने चलन छ । त्यसपछि दाजुभाइले सामाचकेवा फुटाउने र बाजागाजासहित नाचगान गर्दै विसर्जन गर्ने परम्परा रहेको छ ।

सामाचकेवा पर्व मनाउन विवाहित नारी माइत जाने चलन रहेकाले टाढा रहेका दिदीबहिनीसमेत माइतीघर फर्किने गर्छन् । दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले पनि छरछिमेकका आफन्तसँग मिलेर यो पर्व मनाउने गरेका छन् ।

मधेस प्रदेशका महोत्तरी, सर्लाही, सिरहा, धनुषा, सप्तरी, बारा र पर्साका साथै भारतका सीमावर्ती जिल्लाहरूमा पनि सामाचकेवा पर्व हर्षोल्लासका साथ मनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?