कास्की । तिहार र छठ पर्वको बिदासँगै कास्कीका पर्यटकीय गाउँमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ यतिबेला पर्यटकले भरिभराउ भएका छन् ।
पर्यटकको सङ्ख्या बढेपछि यहाँका होटल तथा घरबासमा पाहुनाको चाप बढेको छ । कतिपय पर्यटकले अग्रिम बुकिङ नगर्दा बस्ने ठाउँ पाउनसमेत कठिन भएको छ ।
अन्नपूर्ण गाउँपालिका–१० र ११ मा पर्ने घान्द्रुकमा तिहारको भोलिपल्टदेखि पर्यटकको आगमन बढेको हो । घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङका अनुसार अहिले दैनिक तीन हजार चार सयदेखि तीन हजार पाँच सयसम्म पर्यटक गाउँ पुगिरहेका छन् । होटलमा कोठा पाउन कठिन हुन थालेपछि समितिले पर्यटकलाई अग्रिम बुकिङ गरेर मात्र आउन आग्रह गरेको छ ।
घान्द्रुकमा अधिकांश आन्तरिक पर्यटक आउने गरेका छन् । भारतीय तथा अन्य देशका पर्यटक पनि यहाँ पुग्ने गरेका छन् । अन्नपूर्ण हिमशृङ्खला र माछापुच्छ्रेको दृश्य, गुरुङ समुदायको संस्कृति तथा गाउँले वातावरण घान्द्रुकका मुख्य आकर्षण हुन् । यहाँ अहिले ८० होटल र ३५ घरबास सञ्चालनमा छन् ।
यस्तै, मादी गाउँपालिका–१ मा रहेको सिक्लेस गाउँमा पनि पर्यटकको चाप बढेको छ । पर्यटक सूचना केन्द्रका अनुसार तिहारको भोलिपल्ट मात्रै एक हजार तीन सय २४ जना पर्यटक सिक्लेस पुगेका थिए ।
एकैपटक धेरै पर्यटक आउँदा होटल व्यवस्थापनमा समस्या भएको स्थानीय व्यवसायीले बताएका छन् । नमस्ते गेस्ट हाउसकी सञ्चालक झरना गुरुङका अनुसार होटल आइतबारसम्मका लागि बुकिङ भइसकेको छ । कोठा पाउन कठिन हुन थालेपछि पर्यटकलाई आउनुअघि नै होटलमा सम्पर्क गरेर बुकिङ गर्न आग्रह गरिएको छ ।
सिक्लेस प्राकृतिक सुन्दरता र गुरुङ संस्कृतिका लागि परिचित छ । ढुङ्गा र जस्ताले बनेका घर, ढुङ्गे आँगन, साँघुरा गल्ली र पुराना शैलीका घरले गाउँको मौलिक पहिचान झल्काउँछन् । गुरुङ सङ्ग्रहालय, शान्ति स्मारक, सिक्लेस पार्क, स्थानीय नाचगान र परिकार यहाँका अन्य आकर्षण हुन् । सिक्लेस–कपुचे–कोरी पदमार्ग सञ्चालनमा आएपछि पदयात्रीको आगमन पनि बढेको छ ।
यसैगरी, माछापुच्छ्रे गाउँपालिका–८ मा पर्ने ल्वाङ गाउँमा पनि पर्यटकको आगमन बढेको छ । तिहारको भोलिपल्टदेखि होटल र घरबास पाहुनाले भरिएका छन् । ल्वाङ सामुदायिक घरबास व्यवस्थापन समितिकी निवर्तमान अध्यक्ष मञ्जु गुरुङका अनुसार पर्यटकको चाप बढेपछि आवास व्यवस्थापनमा कठिनाइ भएको छ ।
विसं २०६७ मा सात घरबाट सुरु भएको ल्वाङको घरबास व्यवसाय अहिले २६ घरमा विस्तार भएको छ । यहाँका घरबासमा एक रातमा चार सय जनासम्म पाहुना राख्न सक्ने क्षमता छ ।
समुद्री सतहबाट एक हजार चार सय मिटर उचाइमा रहेको ल्वाङबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलाको सुन्दर दृश्य देखिन्छ । गाउँको सिरानमा रहेको एक हजार दुई सय रोपनी क्षेत्रफलको चियाबारी यहाँको प्रमुख आकर्षण हो ।
ल्वाङ पुग्ने पर्यटकले गुरुङ संस्कृति, स्थानीय परिकार, खेतीपाती र परम्परागत सीपबारे जानकारी लिन पाउँछन् । निगालोबाट डोको तथा सेखु बनाउने तरिका सिक्नसमेत सकिन्छ । अन्नपूर्ण आधार शिविर र मर्दी पदमार्ग जाने पर्यटक पनि यहाँ विश्रामका लागि पुग्ने गरेका छन् ।
पोखराबाट सडकमार्ग हुँदै घान्द्रुक, सिक्लेस र ल्वाङ पुग्न सकिने भएकाले यी गाउँ पर्यटकका लागि सहज गन्तव्य बनेका छन् । प्राकृतिक सुन्दरता, मौलिक संस्कृति र घरबासको अनुभव लिन पर्यटकको आकर्षण बढ्दै गएको छ ।
तिहार र छठको बिदामा पर्यटकको आगमन बढेपछि स्थानीय पर्यटन व्यवसायी उत्साहित भएका छन् । तर, पर्यटकको चापअनुसार पर्याप्त आवासको व्यवस्था मिलाउनु भने उनीहरूका लागि चुनौती बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया