काठमाडौं । गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्याङको जंगल क्षेत्रमा शनिबार बिहान ठूलो सुक्खा पहिरो गएको छ ।
शनिबार बिहान करिब ९ बजे गएको पहिरोका कारण ठूलो मात्रामा ढुंगा, माटो र धुलो खसेको स्थानीयले बताएका छन् । पहिरोबाट खसेका केही ढुंगा र माटो बूढीगण्डकी नदीसम्म पुगे पनि नदी थुनिने अवस्था नरहेको स्थानीय प्रशासनले जनाएको छ ।
धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङका अनुसार पहिरो गएको ठाउँ फराकिलो पाखो क्षेत्रमा रहेकाले तत्काल ठूलो जोखिम छैन । नदीको बहावसमेत रोकिने सम्भावना नरहेको उनले बताएका छन् ।
उनले नदीमा केही ढुंगा र माटो मात्रै पुगेको र अहिले कुनै खतरा नरहेको जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय गोरखाले पनि उक्त क्षेत्रमा ठूलो सुक्खा पहिरो गएको पुष्टि गरेको छ । गोरखाका प्रहरी प्रमुख एसपी अनिलकुमार खड्काका अनुसार पहिरोका कारण अहिलेसम्म कुनै मानवीय क्षति भएको छैन । पहिरोबाट उडेको धुलो भने सडकसम्म पुगेको छ ।
घटनाबारे जानकारी पाएपछि प्रहरीले टोली घटनास्थलतर्फ पठाएको छ । पहिरो गएको क्षेत्रको अवस्था र सम्भावित जोखिमबारे थप जानकारी संकलन भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया