सेबोनले पहिलोपटक सार्वजनिक गर्‍यो परामर्शपत्र, शर्ट सेलिङ र धितोपत्र सापटीको बाटो खुल्दै

लोकपथ
7
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपालको पुँजी बजारमा मार्जिन लेण्डिङ, धितोपत्र उधारो तथा सापटी र आवरणयुक्त शर्ट सेलिङ सञ्चालनका लागि आवश्यक नीतिगत, कानुनी, संरचनागत तथा प्राविधिक व्यवस्थासम्बन्धी अवधारणापत्र सार्वजनिक गरेको छ ।

बोर्डले बजारको तयारी अवस्था मूल्याङ्कन गर्न तथा सरोकारवाला पक्षहरूको राय–सुझाव संकलन गर्न उक्त Consultation Paper सार्वजनिक गरेको जनाएको छ ।

सरकारको चालु आर्थिक वर्ष २०८३–०८४ को बजेट तथा सेबोनको वार्षिक नीति तथा कार्यक्रमअनुसार यी आधुनिक धितोपत्र सेवाहरू चरणबद्ध रूपमा कार्यान्वयन गर्ने लक्ष्य राखिएको सेबोनले जनाएको छ ।

चार अध्यायमा विभाजित अवधारणापत्रमा नेपालको पूँजी बजारको वर्तमान अवस्था, अन्तर्राष्ट्रिय अभ्यास, नियामकीय प्रभाव विश्लेषण तथा नेपालका लागि उपयुक्त मोडलहरू प्रस्ताव गरिएको छ । साथै, सेबोन, नेप्से, सिडिएससी, ब्रोकर, बैंक तथा वित्तीय संस्था र संस्थागत लगानीकर्तालगायत निकायहरूको भूमिका पनि स्पष्ट गरिएको छ ।

बोर्डले प्राप्त सुझावका आधारमा मार्जिन लेण्डिङ, धितोपत्र उधारो तथा सापटी तथा आवरणयुक्त शर्ट सेलिङसम्बन्धी नियमावली तर्जुमा गर्ने जनाएको छ । सम्बन्धित पक्षलाई आफ्नो सुझाव [email protected] मा पठाउन आग्रह गरिएको छ।

यी सेवाको कार्यान्वयनले बजारमा तरलता, दक्षता र लगानीकर्ता सहभागिता बढाउँदै नेपालको पूँजी बजारलाई थप आधुनिक र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने विश्वास रहेको सेबोनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?