काभ्रेपलाञ्चोक–२ मा गोकुल बाँस्कोटालाई यसकारण हम्मे–हम्मे !

निर्वाचन रौनक

२०७४ सालमा सम्पन्न निर्वाचनबाट सरकारको नेतृत्व गर्ने म्यान्डेट पाएको नेकपा एमाले (तत्कालिन नेकपामा सामेल) अहिले आफ्नै कारण प्रतिपक्षमा खुम्चिएको छ ।

५ वर्ष सरकारमा बस्ने अवसरको सदुपयोग गर्न नसकी प्रतिपक्षमा पुगेको एमालेले आगामी निर्वाचनमा कस्ता एजेण्डासहित निर्वाचनमा जाला भन्ने चासो बढेको छ ।

यता बाम गठन्धनका कारण खुम्चिएको नेपाली कांग्रेसले पनि आगामी निर्वाचनमा बदला लिने दाउमा छ ।

त्यसैले आफ्नो निर्वाचन क्षेत्रमा पकड जमाएका एमाले नेताहरुका लागि समेत यो निर्वाचन कठिन पर्ने आँकलन गर्न थालिएको छ । तर, केही नेताहरु भने गठबन्धन भएपनि आफूले जित्ने दाबी गर्दै आइरहेका छन् । तिनै मध्येका एक हुन्– काभ्रेपलाञ्चोक–२ बाट प्रतिनिधित्व गर्ने एमाले नेता गोकुलप्रसाद बाँस्कोटा ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको विश्वास पात्र मानिने पूर्वमन्त्री बास्कोटा खरो स्वभावका कारण चर्चामा आइरहन्छन् । बाँस्कोटा आफूलाई काभ्रेली जनताले सधैं माया गर्ने जिकिरसहित आगामी निर्वाचनमा पनि आफूले जित्ने दाबी गर्छन् । तर, धेरै कारणले गर्दा उनले सोचेजस्तो सजिलो भने छैन ।

यसकारण बाँस्कोटालाई गाह्रो छ !

समग्र काभ्रे र क्षेत्र नं २ मा नेकपा एमालेको प्रभाव क्षेत्र रहेको मानिन्छ । २०६४ साल माओवादीको दबदबा रहेको अवस्थामा समेत नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद सापकोटाले जित हासिल गरेका थिए । २०७० सालमा समेत तत्कालिन क्षेत्र नं ४ बाट (अहिले क्षेत्र नं २) का एमालेका उम्मेदवार विदुर सापकोटाले निर्वाचन जितेका थिए । भने अघिल्लो २०७४ सालको आम निर्वाचनमा बाँस्कोटा सोही क्षेत्रबाट माननीय बने । जसको कारण क्षेत्र नं २ लाई एमालेको प्रभाव क्षेत्र मानिन्थ्यो । तर अहिले भने परिस्थिति फरक बनेको छ । उनका मुख्य सारथी बनेका कृष्णप्रसाद र विदुर सापकोटा दुवै उनको पार्टीमा छैनन् । नेकपा विभाजनपछि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा छन् दुवैजना । जसको कारण बाँस्कोटालाई असर पर्ने देखिन्छ ।

माओवादीको दबदबाका बेलामा समेत जित हासिल गरेका कृष्णप्रसाद सापकोटा उनको प्रतिष्पर्धीका रुपमा आउने तयारीमा छन् । सापकोटालाई गठबन्धनको साझा उम्मेदवार बनाउने चर्चा छ । त्यसैले बास्कोटालाई सहज नहुने देखिएको हो ।

यता तत्कालिन क्षेत्र नं ३ (हालको क्षेत्र नं २ मा गाभिएको) २०७० सालको निर्वाचनमा बाँस्कोटालाई नै हराएका नेपाली कांग्रेसका कञ्चनचन्द्र बादे सोही क्षेत्रमा छन् । २०७४ सालको निर्वाचनमा क्षेत्र नं २ प्रदेश ख मा कांग्रेसबाट उम्मेदवार बनेका बादे आगामी निर्वाचनमा बाँस्कोटासँग निर्वाचन लड्ने तयारीमा छन् । उनी उम्मेदवार बनेको अवस्थामा एकीकृत समाजवादीको समेत उनलाई साथ रहन्छ । जे होस, यो क्षेत्रमा गठबन्धन भएको अवस्थामा बास्कोटालाई धेरै नै गाह्रो देखिन्छ ।

त्यसैगरी, २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभामा बाँस्कोटा निर्वाचित हुँदा दुवै प्रदेश निर्वाचन क्षेत्रमा जितेका प्रदेश सांसदहरु समेत गोकुलको साथमा छैनन् ।

त्यतिबेला प्रदेश ‘क’ बाट निर्वाचित लक्ष्मण लम्साल र ‘ख’ बाट बसुन्धरा हुँमागाई माननीय बनेका थिए । तर पार्टी विभाजनका बेला दुवै नेताहरु एकीकृत समाजवादीमा सामेल भएका कारण पनि बाँस्कोटालाई असहज हुने देखिन्छ ।

एकातिर तत्कालिन एमालेमा प्रभावशाली नेताहरु एकीकृत समाजवादीमा जानु र अर्कोतिर गठबन्धनको कारण बाँस्कोटालाई यस निर्वाचनमा आफ्नो साख जोगाउन हम्मेहम्मे पर्ने देखिन्छ ।

स्थानीय निर्वाचनको परीणामले के भन्छ ?

काभ्रे क्षेत्र नं २ मा ३ वटा पालिकाको पूर्ण क्षेत्र र २ पालिकाको भने केही वडा पर्दछन् । क्षेत्र नं २ अन्तर्गत पाँचखाल नगरपालिका, मण्डन देउपुर नगरपालिका, बेथानचोक गाउँपालिकाको पूर्ण क्षेत्र रहेको छ । भने पनौती नगरपालिकाको १,२,३,११ र १२ नम्बर वडा र धुलिखेल गाउँपालिकाको १,२,३,४,५,६ र ७ वटा वडा रहेका छन् ।

क्षेत्र नं २ मा एकल रुपमा हेर्दा एमालेबाट वडाध्यक्ष जित्नेहरुको मत बढी देखिन्छ । वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा क्षेत्र नं २ मा एमालेबाट जितेका वडाध्यक्षहरुको कुल मत ४५ हजार ५ सय १४ रहेको छ । भने, नेपाली कांग्रेस पनि एमालेको हाराहारीमा आएको छ । कांग्रेसले ४५ हजार ४ सय ५६ मत प्राप्त गरेको छ ।

त्यसैगरी एकीकृत समाजवादीले ८ हजार ६ सय ७६ मत ल्याएको छ । यता माओवादी केन्द्रबाट उम्मेदवार बनेका वडाध्यक्षहरुको कुल मत ६ हजार ३ सय ७० रहेको छ । त्यसैले गठबन्धनका पार्टीले प्राप्त गरेको मतलाई हेर्दा गोकुल निकै पछाडी छन् ।

त्यस्तै, समग्र पालिकाको अवस्था हेर्ने हो भने पनि नेपाली कांग्रेसका उम्मेदवारले नेतृत्व लिएका छन् ।

सो क्षेत्र अन्तर्गत पर्ने पाँचखाल नगरपालिकाको मेयरमा नेपाली कांग्रेसको उम्मेदवारले जित हासिल गरेका छन् । त्यस्तै बाँस्कोटाको गृहनगर मण्डनदेउपुर नगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवारले जित निकाले ।

त्यसैगरी, बेथानचोक गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रको उम्मेदवार निर्वाचित भएका छन् । यता पनौती नगरपालिकाको प्रमुखमा पनि नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । भने उपमेयरमा एमाले विजयी भएको छ । यता धुलिखेल नगरपालिकाको मेयरमा भने एमालेका उम्मेदवारले जित हासिल गरेका छन् । भने उपमेयरमा कांग्रेसले जित हासिल गरेको छ । यसरी समग्र स्थानीय तह निर्वाचनको परिणामको मूल्यांकन गर्दा क्षेत्र नं २ मा गठबन्धनको दबदबा देखिन्छ । त्यसैले गोकुललाई गाह्रो छ ।

गलपासो बन्दै ७० करोड काण्ड

आगामी निर्वाचनमा पनि बाँस्कोटाले आफूले निर्वाचन जित्ने दाबी गरे पनि केही कारणहरुले गर्दा उनलाइ ठूलो संकट पर्नसक्ने देखिन्छ । उनको व्यक्तिगत आनीबानी र मन्त्री हुँदा लागेको ७० करोडको आरोपको राप अझै सेलाउन सकेको छैन । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसनको डिल गरेको अडियो सार्वजनिक भएसँगै मन्त्री पदबाट उनले राजीनामा दिनु परेको थियो । प्रकरणपछि उनको सञ्चारदेखि आम मानिसहरुले समेत आलोचना गर्दै आइरहेका छन् । जुन कुरा विपक्षीले निर्वाचनमा विरोधको मसला बनाउने देखिन्छ ।

२०७४ को निर्वाचन फर्केर हेर्दा

२०७४ सालको निर्वाचन फर्केर हेर्ने हो भने बाँस्कोटाले ठूलो मतान्तरसहित निर्वाचित भएका सांसद हुन् । सो क्रममा बाम गठबन्धनबाट उम्मेदवार बनेका बाँस्कोटाले ५४ हजार ४ सय २७ मत ल्याएका थिए । भने उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका मुधप्रसाद आचार्यले जम्मा ३६ हजार ५ सय ७९ मत प्राप्त गरेका थिए । यसरी हेर्दा बाँस्कोटा र आचार्यबीचको मतान्तर १७ हजार ४ सय ४८ देखिन्छ ।

निर्वाचन विशेष यी सामग्री पढ्नुभयो ?

‘काठमाडौं क्षेत्र नं ६ मेरो रोजाइ हो, भीमसेन सरको सहयोग मलाई रहन्छ’ (भिडियोसहित)

आम निर्वाचन : के छ विश्वप्रकाश शर्माको तयारी ?

प्रतिष्पर्धी एउटै मोर्चामा : सिन्धुपाल्चोक-१ मा अग्नि कि मोहन ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?