काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल रेडक्रस सोसाइटीबीच मानवीय सेवा तथा परोपकारी कार्यमा सहकार्य गर्ने समझदारी भएको छ । सोमबार आयोजित कार्यक्रममा दुई संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपछि दुवै संस्थाले मानवीय सहायता, राहत तथा परोपकारी कार्यलाई थप संगठित र प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनएका अध्यक्ष डा। हेमराज शर्माले रेडक्रस र एनआरएनएको कार्य प्रकृति समान रहेको बताए । एनआरएनएका तीन मुख्य स्तम्भमध्ये मानवीय सहायता र परोपकार पनि एक रहेको उल्लेख गर्दै उनले समझदारीले सेवा क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।
उनका अनुसार हाल विश्वका ९२ देशमा एनआरएनएको राष्ट्रिय समन्वय परिषद् (एनसीसी) विस्तार भइसकेको छ । चालु कार्यकालभित्र एनसीसीको संख्या १०० देशमा पुर्याउने लक्ष्य रहेको उनले बताए ।
अध्यक्ष शर्माले कोभिड–१९ महामारीका समयमा कतारलगायत विभिन्न देशमा रेडक्रससँग सहकार्य गरेर काम गरेको अनुभव पनि सुनाए । एनआरएनएले यसअघि नै नेपालका पाँच प्रदेशमा ‘ब्लड बस’ हस्तान्तरण गरिसकेको जानकारी दिँदै बाँकी दुई प्रदेश र केन्द्रका लागि थप तीनवटा बस उपलब्ध गराउने योजना रहेको बताए ।
समझदारीपछि यस्ता कार्यक्रम अझ प्रभावकारी र व्यवस्थित रूपमा सञ्चालन हुने उनको भनाइ छ । उनले नेपालभित्र मात्रै नभई नेपालीहरू रहेका विभिन्न मुलुकमा समेत रेडक्रससँग समन्वय गरेर काम गर्ने इच्छा रहेको बताए ।
सहकार्यका प्रमुख क्षेत्रबारे जानकारी दिँदै शर्माले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको ठूलो संख्या रहेका मध्यपूर्व तथा मलेसियालगायतका देशमा राहत तथा मानवीय सहायता कार्यक्रम सञ्चालन गरिने बताए ।
त्यस्तै, दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई नेपालसँग जोड्न ‘स्वयम्सेवक कार्यक्रम’मार्फत रेडक्रसका विभिन्न गतिविधिमा सहभागी गराउने योजना रहेको उनले बताए ।
आगामी मनसुनमा हुनसक्ने प्राकृतिक विपद्लाई मध्यनजर गर्दै तत्काल राहत कोष संकलन गर्ने प्रतिबद्धता पनि अध्यक्ष शर्माले व्यक्त गरे ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी तथा इन्टरनेसनल फेडरेसन अफ रेडक्रसका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया