निजी कार, जीप, भ्यानलाई आजदेखि नागढुंगा सुरुङमार्ग खुला

लोकपथ
0
Shares

काठमाडौं । एक महिनाअघि उद्घाटन भएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अब निजी सवारीसाधनका लागि पनि खुला गरिएको छ ।

सोमबार बिहान ९ बजेदेखि नौ जनासम्म यात्रु बोक्ने कार, जीप र भ्यानलगायत निजी सवारीलाई सुरुङमार्गबाट काठमाडौं–धादिङ आउजाउ गर्न दिइएको हो ।

यसअघि सुरुङमार्ग आपत्कालीन सवारीका लागि मात्र खुला थियो । अहिले भने एम्बुलेन्स, सरकारी सवारी र नौ सिटसम्मका निजी सवारीलाई पनि सञ्चालन गर्न दिइएको नागढुंगा सुरुङमार्ग सुरक्षा युनिटका उपप्रमुख कविराज श्रेष्ठले जानकारी दिए ।

यो सुरुङमार्ग अहिले परीक्षणका रूपमा सञ्चालन गरिएको हो । एक सातासम्म निजी सवारी सञ्चालन गर्दा चालकलाई परेको समस्या र अनुभवबारे अध्ययन गरिने श्रेष्ठले बताए । त्यसपछि अन्य सवारीलाई पनि क्रमशः सुरुङमार्ग प्रयोग गर्न दिने तयारी छ ।

हाल निजी सवारीका लागि सुरुङमार्ग प्रयोग गर्दा कुनै शुल्क लाग्ने छैन । बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सुरुङमार्ग सञ्चालन हुनेछ ।

सुरुङमार्गमा सवारी चलाउँदा प्रतिघण्टा ४० किलोमिटरभन्दा बढी गति गर्न पाइने छैन । सवारीको हेडलाइट बाल्नुपर्नेछ भने सुरुङभित्र गाडी रोक्न र ओभरटेक गर्न पनि पाइने छैन ।

यस्तै, पैदलयात्री, दुईपांग्रे सवारी तथा डिजेल, पेट्रोललगायत प्रज्वलनशील पदार्थ बोकेका सवारीलाई सुरुङमार्गमा प्रवेश गर्न दिइने छैन ।

करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण भएको यो नेपालको पहिलो व्यवस्थित यातायात सुरुङमार्ग हो । शिलान्यास भएको सात वर्षपछि गत साउन ११ गते यसको उद्घाटन गरिएको थियो ।

मुख्य सुरुङ २।६८ किलोमिटर लामो छ भने आपत्कालीन सुरुङको लम्बाइ २।५५७ किलोमिटर रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?