काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले राजनीतिक दलहरूको आन्तरिक, कानुनी तथा संवैधानिक व्यवस्थापन हेर्ने अन्तिम निकाय निर्वाचन आयोग भएको बताएका छन् ।
संघीय संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै केसीले अदालत सामान्यतया राजनीतिक दलका आन्तरिक मामिलामा प्रवेश नगर्ने बताए । सर्वोच्च अदालतको पछिल्लो निर्णयलाई आफूहरूले हार्दिकतापूर्वक स्वीकार गर्ने भए पनि त्यसबाट विचलित वा तर्सिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।
नेता केसीले सर्वोच्चको पछिल्लो फैसलालाई पूर्णपाठ वा प्रक्रियागत सुधारका रूपमा बुझ्नुपर्ने धारणा राखे। उनले भने, ‘अदालत कुनै पनि पार्टीको आन्तरिक राजनीतिमा प्रवेश गर्छ भन्ने मलाई विश्वास छैन। अप्रत्याशित रूपमा आएको निर्णयलाई स्वीकार गरे पनि यसबाट विचलित हुनुपर्ने वा तर्सिनुपर्ने अवस्था छैन ।’
नेपाली कांग्रेसको आन्तरिक राजनीतिबारे बोल्दै केसीले पार्टीभित्र एकता र लचकताको आवश्यकता रहेको बताए । लोकतन्त्रको संस्थापक र संवाहक शक्तिका रूपमा कांग्रेसले राष्ट्रिय चुनौतीहरूको सामना गर्न एक ढिक्का हुनुपर्ने उनको भनाइ छ ।
पार्टीभित्रको गतिरोध अन्त्य गर्न विशेष अधिवेशनमार्फत सहमतिपूर्ण वातावरण निर्माण गर्नुपर्नेमा पनि उनले जोड दिए ।
यसैबीच, प्रधानमन्त्रीको हालैको मुस्ताङ भ्रमणबारे टिप्पणी गर्दै केसीले भ्रमणमा देखिएको सादगी र सरलताको प्रशंसा गरे । कम तामझामका साथ गरिएको भ्रमण सकारात्मक रहेको उनको भनाइ थियो ।
यद्यपि, प्रधानमन्त्रीले देखाएको सरलता र सादगी संसदप्रति पनि देखाउनुपर्ने केसीले बताए । संसदले सरकार निर्माण र निर्देशन गर्ने भएकाले प्रधानमन्त्री संसदप्रति थप उत्तरदायी हुनुपर्ने उनको भनाइ छ ।
सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै केसीले मुलुकमा बढ्दै गएको असन्तुष्टि र निराशाप्रति सरकार सचेत हुनुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया