आम निर्वाचन : के छ विश्वप्रकाश शर्माको तयारी ?

काठमाडौं । सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै देशभर चुनावी माहोल विस्तारै तात्न थालेको छ ।

आगामी मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा भएसँगै नेताहरुले आ-आफ्नो दाबी प्रस्तुत गर्न थालेका छन् ।

सो क्रममा विभिन्न राजनीतिक दलका युवा नेताहरुले कहाँकहाँबाट उम्मेदवारी घोषणा गर्दछन् भन्ने काैतहलताकाे विषय बनेकाे छ ।

हाल सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका युवा नेताहरुले कुन–कुन क्षेत्रबाट निर्वाचनमा भाग लिन्छन् भन्ने विषयको चर्चा  पनि बेग्लै छ । त्यसमा पनि महामन्त्री समेत रहेका युवा नेता विश्वप्रकाश शर्मा कहाँबाट निर्वाचन लड्लान् भन्ने कुरालाई सर्वाधिक चासोको रुपमा हेरिन थालेको छ ।

यसअघि झापा क्षेत्र नं १ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेका शर्मा अबको निर्वाचनमा सोही क्षेत्र वा देशका अन्य क्षेत्रबाट उम्मेदवार बन्छन् भन्ने विभिन्न आंकलन गर्न थालिएको छ ।

आगामी निर्वाचनको तयारी के छ भन्ने विषयमा लोकपथले राखेको जिज्ञासामा महामन्त्री शर्माले अहिले नै त्यस बारेमा धेरै नसोचेको बताए । राजनीतिक नेताका लागि निर्वाचन लड्ने र दाबी रहने कुरा स्वभाविक रहे पनि अहिले नै त्यस विषयमा चर्चा गर्नु उपयुक्त नहुने महामन्त्री शर्माको तर्क छ ।

‘निर्वाचनको मिति घोषणा भएसँगै नेताले उम्मेदवारको दाबी गर्ने र निर्वाचन लड्ने कुरा स्वभाविक होला । तर अहिले नै त्यस विषयमा मैले कहाँबाट लड्ने के गर्ने भन्ने निर्णय गर्नु उचित हुँदैन । यसमा पार्टी कमिटीले निर्णय गर्ने कुरा रह्यो त्यसपछि म कहाँबाट लड्ने भन्ने टुंगो लाग्ला,’ महामन्त्री शर्माले लोकपथसँग भने ।

आगामी निर्वाचनमा महामन्त्री शर्मा गृहनगर झापा क्षेत्र नं १ बाटै निर्वाचन लड्ने तयारी रहेको उनी निकटहरु बताउँछन् । पछिल्लो समय आफ्नो निर्वाचन क्षेत्रमा बढी क्रियाशील रहेको कारण उनको रोजाइ झापा क्षेत्र नं १ नै हुनसक्ने उनी निकटहरुको दाबी रहेको छ ।

शर्मा यसअघि झापा क्षेत्र नं १ बाट प्रतिनिधि सभामा निर्वाचन लडेका थिए । तत्कालिन बाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका राम कार्कीसँग पराजित भए ।

यसअघि एमाले र माओवादीसहित बाम गठबन्धन भए पनि यसपटक शर्मा र कार्की पाँचदलीय एउटै गठबन्धनमा आवद्ध छन् ।

गत स्थानीय निर्वाचनमा महामन्त्री शर्माको गृहनगर झापाको मेचिनगर नगरपालिकामा कांग्रेस र माओवादीबीच गठबन्धन भएको थियो । मेयरमा कांग्रेसका उम्मेदवार र उपमेयरमा माओवादीका उम्मेदवार रहे पनि दुवै पद गठबन्धनले गुमाउनु पर्याे ।

त्यसैले झापा क्षेत्र नम्बर १ बाटै उठ्दा पनि शर्मालाई सहज भने पक्कै देखिँदैन । जुन कुरा गत स्थानीय तह निर्वाचनको मतपरीणामले पनि प्रष्ट पार्छ । त्यतिबेलाको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवारको मत परीणामलाई आधार मान्ने हो भने कांग्रेस धेरै पछाडी छ ।

स्थानीय तहको निर्वाचनमा एमालेको ३१ हजार २ सय ३२ मत छ भने कांग्रेसले २४ हजार ५९ मत प्राप्त गरेको छ । त्यसैगरी, माओवादी केन्द्रले ३ हजार ९ सय ५ मत ल्याएको छ । साथै, यस क्षेत्रमा राप्रपाको मत ५ हजार ९ सय २२ छ भने एकिकृत समाजवादीले १ हजार २ सय ५२ मत प्राप्त गरेको छ ।

यो आँकडाअनुसार गठबन्धनबाटै विश्वप्रकाशले टिकट पाउँदाको अवस्थामा पनि एमाले नै अघि देखिन्छ । यद्यपि, २०७४ को आम निर्वाचनमा कम्युनिष्ट गठबन्धनसँग जम्मा २ हजार ८ सय ६३ मतान्तरले पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?