कामना सेवा विकास बैंकले शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश दिने

लोकपथ
0
Shares

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिक साधारणसभा २०८३ भदौ ३१ गते आयोजना गर्ने भएको छ । बैंकले साधारणसभा काठमाडौंको बालुवाटार रोडस्थित आम्रपाली बैंक्वेटमा आयोजना गर्ने जनाएको छ ।

सभामा बैंकको सञ्चालक समितिले प्रस्ताव गरेअनुसार नेपाल राष्ट्र बैंकबाट स्वीकृत आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट शेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ ।

बैंकले आफ्ना शेयरधनीलाई चुक्तापुँजीको १५ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै, अग्राधिकार शेयरधनीलाई अग्राधिकार शेयर बाँडफाँट भएको मितिदेखि २०८३ असार मसान्तसम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।

सभामा आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षकको प्रतिवेदनसहित वार्षिक वित्तीय विवरण, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँट हिसाब तथा वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पारित गर्ने प्रस्ताव रहेको छ ।

त्यसैगरी, बाह्य लेखापरीक्षक नियुक्त गर्ने लगायतका विभिन्न प्रस्तावमाथि पनि साधारणसभामा छलफल तथा निर्णय हुने बैंकले जनाएको छ ।

बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि २०८३ भदौ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले २०८३ भदौ १७ गतेसम्म कायम शेयरधनीले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन पाउनेछन् ।

गत वर्ष कामना सेवा विकास बैंकले बोनस शेयर तथा नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?