एलआरआर मोटर्सले नेपाल ल्यायो स्काईवेल बीई११, नाडा अटो शोमा सार्वजनिक हुँदै

लोकपथ
0
Shares

काठमाडौं । एलआरआर मोटर्सले चिनियाँ लक्जरी विद्युतीय सवारी ब्रान्ड ‘स्काईवेल’ नेपाल भित्र्याएको छ । कम्पनीले स्काईवेलको बीई११ मोडल दुई भेरियन्टमा नेपाल ल्याएको हो ।

कम्पनीका अनुसार बीई११ लाई भदौ ९ गतेदेखि सुरु हुने नाडा अटो शो–२०२६ को पहिलो दिन औपचारिक रूपमा सार्वजनिक गरिनेछ । त्यसअघि सोमबार स्काईवेलका उपाध्यक्षले एलआरआर मोटर्सका प्रतिनिधि, कर्मचारी तथा अटोमोबाइल क्षेत्रका व्यक्तिहरूको उपस्थितिमा नेपालमा स्काईवेलको लोगो सार्वजनिक गरेका छन् ।

नेपाल ल्याइएको बीई११ को एउटा भेरियन्टमा ७१.९८ किलोवाट आवर क्षमताको एनएमसी ब्याट्री रहेको छ । यसले एकपटक पूर्ण चार्ज गर्दा ५२० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ ।

त्यस्तै, अर्को भेरियन्टमा ५१.९१ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिइएको छ । यो भेरियन्टले एकपटक पूर्ण चार्जमा ४१० किलोमिटरसम्म रेन्ज दिने कम्पनीले जनाएको छ । दुवै भेरियन्टमा १५० किलोवाट क्षमताको मोटर रहेको छ ।

बीई११ मा ८०० भोल्टको हाई भोल्टेज आर्किटेक्चर प्रयोग गरिएको छ । डीसी फास्ट चार्जरबाट ३५ मिनेटमा ब्याट्री ७० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको भनाइ छ ।

पाँच सिट क्षमताको बीई११ मा पानारोमिक सनरुफ, ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड सिट र आधुनिक डिजाइनजस्ता सुविधा छन् । गाडीमा १९८ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स रहेको छ । यसले नेपाली सडकमा गाडी चलाउन सहज हुने कम्पनीको दाबी छ ।

स्काईवेल बीई११ को मूल्य र वारेन्टीबारे भने अहिलेसम्म जानकारी दिइएको छैन । कम्पनीले नाडा अटो शोमा गाडी सार्वजनिक गरेसँगै यसको मूल्य र वारेन्टीको विवरण सार्वजनिक गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?