काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले बलात्कारी र भ्रष्टाचारीलाई प्रमाणित भएपछि घटनास्थलमै गोली ठोक्ने कानुन लागू गर्न सरकारसँग माग गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुनारले बलात्कार तथा हत्याका घटनामा दोषीलाई कडा कारबाही गर्नुपर्ने बताएका हुन् ।
उनले बझाङकी सम्झना कामी, कञ्चनपुरकी निर्मला पन्त, कैलालीकी माया कामी, रुपन्देहीकी अंगिरा पासी, खोटाङकी रेस्मिका परियार, म्याग्दीकी मिना परियारलगायतका बलात्कार तथा हत्याका घटनाको स्मरण गरे । हालै बाराको सिमरामा भएको गरिमा चौधरीको बलात्कार तथा हत्या घटनालाई पनि उनले उठाएका थिए ।
सांसद सुनारले यस्ता घटनाको फेहरिस्त लामो रहेको भन्दै पीडितको नाम लिएर संसदमा लामो बहस गर्नु मात्रै पर्याप्त नहुने बताए । उनले महिलाको सम्मान, सुरक्षा र बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।
‘बलात्कारी र भ्रष्टाचारी प्रमाणित भएको खण्डमा अन दि स्पोर्ट ठोक्ने कानूनको व्यवस्था तत्काल लागू गर्न आह्वान गर्दछु,’ उनले भने ।
उनले बलात्कार र भ्रष्टाचारजस्ता अपराधमा कुनै पनि प्रकारको सम्झौता गर्न नहुने बताए । साथै, देशमा महिलाले सुरक्षित रूपमा बाँच्न र आफ्नो जीवन अघि बढाउन पाउने वातावरण बनाउन सरकारसँग माग गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया