लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले टीकापुर घटनाबारे उच्चस्तरीय जाँचबुझ आयोग (लाल आयोग) ले तयार पारेको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत थापाले आयोग गठन भएको एक दशक पुग्न लाग्दा समेत प्रतिवेदन सार्वजनिक नहुनु दुःखद भएको बताएका छन् । प्रतिवेदन सार्वजनिक नहुँदा टीकापुर घटनाको सत्यतथ्य बाहिर आउन नसकेको र पीडितहरू न्याय पाउनबाट वञ्चित भएको उनको भनाइ छ ।

थापाले २०७३ सालमा गठन भएको लाल आयोगले सरकारलाई बुझाएको प्रतिवेदन अहिलेसम्म सार्वजनिक नगरिनु उचित नभएको बताएका छन् ।

उनले विगतका सरकारले पनि प्रतिवेदन सार्वजनिक गर्न नसकेको उल्लेख गर्दै विगतको कमजोरीलाई देखाएर अहिले पनि प्रतिवेदन गोप्य राखिरहन नमिल्ने बताए ।

‘विगतका सरकारबाट पनि यो काम हुन सकेन । तर, विगतको कमजोरी आज पनि प्रतिवेदन सार्वजनिक नगर्ने कारण बन्न सक्दैन, बन्नु हुँदैन,’ थापाले भनेका छन् ।

राजनीतिक दलहरूले सरकारमा जानुअघि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाउँदै आए पनि सत्तामा पुगेपछि त्यसलाई कार्यान्वयन गर्न नसकेको उनले बताएका छन् ।

पीडितले न्याय पाउनु उनीहरूको अधिकार भएको भन्दै थापाले यसपटक प्रतिवेदन सार्वजनिक गर्ने विषय प्रतिबद्धतामा मात्रै सीमित नराख्न सरकारलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?