शिक्षक हत्या प्रकरण: पहिल्यैदेखि थिए विप्लव समूहको ‘टार्गेट’, प्रहरीले शुरु गर्‍यो ‘सर्च अपरेशन’

घटना : प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या

स्थान : मोरङको मिक्लाजुङ-१ रमितेखोलास्थित बर्खे गाउँ

हत्या भएको स्थान : घरदेखि करिब ३० मिनेट टाढा जंगलमा

हत्याको प्रकृति : घाँटी रेटेर

प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वका कार्यकर्ताले मङ्सिर २३ गते मंगलवार बिहान सवा ६ बजेतिर चार पाँच जनाको संख्यामा आई प्रधानाध्यापक राजेन्द्र श्रेष्ठलाई घरबाट उठाएर लगेका थिए । घरदेखि करिब ३० मिनेट टाढा जंगलमा लगेर उनको हत्या भएको थियो ।

हत्या गरिएका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको शव बुधवार दिउँसो पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । श्रेष्ठको आज अन्त्येष्टि गरिएको छ । पोष्टमार्टम रिपोर्ट आउन भने १-२ दिन लाग्ने जिल्ला प्रहरी कार्यालयका डिएसपी मान बहादुर राईले लोकपथलाई जानकारी दिए ।

घटना भएको दिन : 

विप्लव समूहका कार्यकर्ताले प्रधानाध्यापक श्रेष्ठलाई घरबाट उठाएर लगेपछि परिवारले प्रहरीलाई खबर गर्‍यो । तर, घटनास्थल निकै टाढा भएका कारण प्रहरी घटना स्थलमा पुग्न समय लाग्यो । जिल्ला प्रहरी कार्यलय मोरङबाट घटनास्थल करिब ८५ किमि को दूरीमा रहेको र मोटरबाटो छोडेर पनि घटनास्थल पुग्न ३ घण्टा लाग्ने भएकाले ढिलो भएको प्रहरीको भनाइ छ ।

५४ वर्षीय श्रेष्ठ सेवाबाट रिटायर्ड हुन लागेका र विप्लव समूहले पहिलेदेखि नै निशाना बनाइरहेको पारिवारिक स्रोतले बताए । श्रेष्ठमाथि विप्लव समूहले आफ्ना सूचना बाहिर लगेको आरोप लगाएका थिए । श्रेष्ठका एक श्रीमती र एक छोरा छन् ।

घटना बारे के भन्छ प्रहरी प्रशासन ?

प्रहरीले हत्या गर्नेहरूको खोजीका लागि ‘सर्च अपरेशन’ गरिरहेको जनाएको छ । हामीले विभिन्न कोणबाट अनुसन्धान शुरु गरेका छौँ । जिल्ला प्रहरी कार्यालयका डिएसपी मान बहादुर राईले भने । प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको शव पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । पोष्टमार्टमको रिपोर्ट आउन १-२ दिन लाग्ने प्रहरीले जनाएको छ ।

घटनास्थल आसपासको जंगलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त गस्ती बढाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको १ नं प्रदेश प्रहरी कार्यालय, बिराटनगरसहित जिल्ला प्रहरी कार्यालय, मोरङ र अपराधस्थल नजिकैका इलाका प्रहरी कार्यालयबाट टोली खटाएर ‘सर्च अपरेशन’ जारी राखिएको छ ।

‘घटनामा संलग्न व्यक्तिको पहिचान गरेर उनीहरुको खोजी गरिरहेका छौं ,’ मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले भने ।

घटना बारे छानबिन गर्न गृहमन्त्रीले बोलाए सुरक्षा बैठक : 

गृहमन्त्री रामबहादुर थापाले बुधवार मन्त्रालयमा चारै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिलाई बोलाएका थिए ।

बैठकमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका महानिर्देशक गणेश अधिकारी र नेपाली सेनाका प्रतिनिधि सहभागी थिए ।

घटनापछि बसेको बैठकमा गृहमन्त्री थापाले विप्लव समूहको गतिविधिमा थप आक्रामक कारबाही गर्न निर्देशन दिएको बुझिएको छ ।

हत्या स्वीकार गरेको विप्लब समूहको यस्तो विज्ञप्ती : 

विप्लव समूहले हत्याका लागि विभिन्न ४ कारणहरु देखाएको छ । पार्टीका इन्चार्ज प्रतापको नामबाट मंगलवार जारी विज्ञप्तिमा श्रेष्ठ पार्टीको सुराकी भएको आरोप लगाइएको छ भने उनलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा मृत्यु हुन पुगेको दाबी गरिएको छ ।

मिक्लाजुङ गाउँपालिका-१ का श्रेष्ठले २०७६ फागुन २६ गते पार्टीको मेची–कोसी बैठकका क्रममा प्रहरी बोलाएको दमन गरेको, प्रहरीको सुराकीको रुपमा काम गरेको, नेता कार्यकर्तालाई पक्राउ गराएकोलगायतका आरोप विप्लव समूहले लगाएको छ ।

प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको अन्त्येष्टि : 

अपहरण गरी विकट बर्खे जंगलमा लगी घाँटी रेटी हत्या गरेका शिक्षक श्रेष्ठको आज अन्त्येष्टि गरिएको छ ।

यस घटनाबारे लोकपथमा यसअघि प्रकाशित समाचार पढ्नु भएको थियो ? 

ब्रेकिङ : विप्लव समूहद्वारा शिक्षकको गोली हानी हत्या !

अपडेट : विप्लव समूहद्वारा शिक्षकको गोली हानी हत्या, अपहरण गरी घरबाटै लगेका थिए !

घाँटी रेटेर हत्या भएको अवस्थामा भेटिएका शिक्षकको शव विराटनगर लगिँदै

शिक्षकको निर्मम हत्या गरेको विप्लव समूहले विज्ञप्ती निकालेर लेख्यो हत्याको ४ कारण (विज्ञप्तीसहित)

विप्लव समूहद्वारा हत्या गरिएका श्रेष्ठको शव पोष्टमार्टमका लागि लगियो

विप्लव समूहले हत्या गरेका मिक्लाजुङका शिक्षकको अन्त्येष्टि आज

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?