शिक्षकको निर्मम हत्या गरेको विप्लव समूहले विज्ञप्ती निकालेर लेख्यो हत्याको ४ कारण (विज्ञप्तीसहित)

काठमाडौं – एकाबिहानै निहत्था शिक्षकको अपहरणपछि घाँटी रेटी हत्या भएको समाचारले हिजो (मंगलवार ) धेरैको मथिंगल हल्लायो ।

उनको परिवारले प्रहरीलाई दिएको जानकारी अनुसार विप्लव समूहले उनलाई ‘टार्गेट’ मा पारिरहेको भनिएतापनि प्रहरीले अनुसन्धानकै क्रममा आफूहरु रहेको बताएको थियो ।

तर राति जब मोरङको पहाडी गाउँ मिक्लाजुङ वडा नम्बर – १ बस्ने शिक्षक राजेन्द्र श्रेष्ठको हत्या आफ्नो पार्टीले गरेको भन्दै विप्लव समूहले घटनाको जिम्मेवारी लिँदै मध्यरातमा विज्ञप्ती निकाल्यो त्यसैले आम मानिसमा झनै त्रास थप्यो ।

विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले जारी गरेको विज्ञप्तीमा आफ्नो पार्टीले हत्या गरेको स्विकार्दै हत्या गर्नुको ४ कारण समेत लेखेको छ ।

घटनाको जिम्मा लिँदै प्रतिबन्धित नेकपाले प्रतिकारमा उनी मारिएको दावी समेत गरेको छ ।

पार्टीका इन्चार्ज प्रतापको नामबाट मंगलबार जारी विज्ञप्तिमा श्रेष्ठ पार्टीको सुराकी भएको आरोप लगाइएको छ भने उनलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा मृत्यु हुन पुगेको दावी गरिएको छ । मिक्लाजुङ गाउँपालिका १ का श्रेष्ठले २०७६ फागुन २६ गते पार्टीको मेची–कोसी बैठकका क्रममा प्रहरी बोलाएको दमन गरेको, प्रहरीको सुराकीको रुपमा काम गरेको, नेता कार्यकर्तालाई पक्राउ गराएकोलगायतका आरोप विप्लव समूहले लगाएको छ ।

सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठलाई हिजो (मंगलबार) विहान ६ बजेतिर ४ /५ जनाको समूहमा आएका विप्लवका कार्यकर्ताले घरबाट अपहरण गरेर जंगलतर्फ लगेका थिए ।

स्थानीयले गोली चलेको आवाज पनि सुनेको भनेतापनि उनको शव हात बाँधीएको र घाँटी रेटी विभत्स हत्या गरिएको अवस्थामा फेला परेको थियो । जंगलमा घाँटी रेटी हत्या भएको अवस्थामा भेटिएका शिक्षकको शव पोष्टमार्टमका लागि हिजो मंगलवार साँझ नै विराटनगर लगिएको थियो ।

यो घटनापश्चात् गाउँ शोकमा डुबेको छ । आम मानिसमा आक्रोश र त्रास थपिएको छ भने प्रतिबन्धित समूहप्रति सरकार थप आक्रामक हुने संकेत देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?