सीमा सुरक्षा तथा आन्तरिक व्यवस्थापन थप सुदृढ पार्न सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन

लोकपथ
35
Shares

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले देशको सीमा सुरक्षा, आन्तरिक शान्ति सुरक्षा तथा व्यवस्थापन र सम्भावित सुरक्षा चुनौतीहरूलाई दृष्टिगत गर्दै मातहतका सम्पूर्ण युनिटहरूलाई उच्च अपरेसनल रेडीनेसमा रहन निर्देशन दिएका छन् ।

बिहीबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय कार्य विभागद्वारा आयोजित भर्चुअल सम्मेलन, २०८३ को उद्घाटन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले बाहिनी, गण, गुल्म तथा बेस तहसम्मका कमान्डरहरूलाई राष्ट्रिय सुरक्षा, नागरिकमैत्री सेवा प्रवाह र संस्थागत जवाफदेहितामा केन्द्रित रहेर कार्य सम्पादन गर्न स्पष्ट निर्देशन दिएका हुन् ।

उनले जुनसुकै समयमा हुनसक्ने सम्भावित आन्दोलन, विरोध कार्यक्रम तथा सुरक्षा चुनौतीहरूप्रति पूर्वतयारी अपनाउन कमान्डरहरूलाई निर्देशन दिए । साथै भीड नियन्त्रणका क्रममा ओभर रियाक्ट नगर्न र समानुपातिक, कानुनी, जवाफदेही र आवश्यक सिद्धान्तका आधारमा मात्र सिलसिलेवार बल प्रयोग गर्नुपर्ने उल्लेख गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले संगठनले सीमा सुरक्षा र विपद् व्यवस्थापनमा दुई दशकभन्दा बढी समयको अनुभव हासिल गरिसकेकाले यसलाई ठोस परिणाममा रूपान्तरण गर्न क्षमता अभिवृद्धि तथा थप सुदृढ गर्दै लैजानुपर्ने बताए । साथै सीमा सुरक्षाको प्रमुख निकाय सशस्त्र प्रहरी बल नेपाल भएको हुनाले सीमामा हुने विभिन्न आपराधिक घटनाको बारेमा तत्काल प्रभावकारी योजना तथा प्रतिक्रिया गर्नको निमित्त समकक्षी सुरक्षा निकायहरूसँग सम्बन्ध सुदृढ बनाउँदै प्रणालीगत सूचना संकलन संयन्त्रलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

उनले कमान्डरहरूको भूमिकालाई अधिकारमा मात्र नभई पूर्ण उत्तरदायित्व र नैतिक नेतृत्वमा मापन गरिने नीति संगठनले लिएको हुँदा कमान्डरहरूले आफ्नो निर्णय र मातहतको कार्यसम्पादनको पूर्ण जिम्मेवारी लिई दबाबका समयमा समेत परिपक्व निर्णय लिँदै उदाहरणीय नेतृत्व प्रस्तुत गर्न समेत निर्देशन दिए ।

सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले संगठनभित्र भ्रष्टाचार, अनियमितता, दुराचार र अनुशासनहीनता विरुद्ध शून्य सहनशीलताको नीति कडाइका साथ लागू गरिएको तथा संगठनको प्रतिष्ठा हरेक राष्ट्रसेवकको आचरणसँग जोडिएकाले औपचारिकतामा मात्र सीमित नभई परिणाममुखी कार्यसंस्कृति विकास गर्दै नागरिकको विश्वास र सम्मान हासिल गर्न सशस्त्र प्रहरी बल नेपाल प्रतिवद्ध रहेको उल्लेख गरे ।

मनसुनजन्य विपद् प्रतिकार्य, वर्तमान सुरक्षा अवस्था र आगामी दिनमा आउन सक्ने सुरक्षा चुनौतीहरूको सूक्ष्म विश्लेषण गर्दै आयोजना गरिएको यस सम्मेलनले संगठनको भावी परिचालन र योजना कार्यान्वयनलाई थप सुदृढ बनाउने अपेक्षा लिइएको सशस्त्रले जनाएको छ ।

सम्मेलनमा सुरक्षा व्यवस्थालाई थप चुस्त, सुदृढ र परिणाममुखी बनाउने तदारुकतालाई आत्मसात् गर्दै सबै तहका कमान्डरहरूले सुशासन, जवाफदेहिता र कानुनसम्मत सेवा प्रवाहलाई प्राथमिक दायित्वका रूपमा लिनुपर्नेमा विशेष जोड दिइएको छ ।

सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले विपद् व्यवस्थापन समन्वय तथा कार्य संचालन केन्द्रको समेत उद्घाटन समेत गरेका थिए । सम्मेलनमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेश बहादुर ठाडा मगर, अञ्जनी कुमार पोखरेल लगायत भर्चुअल माध्यमबाट सबै प्रदेशका वाहिनीपति, सिनियर तथा जुनियर अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?