विप्लव समूहले हत्या गरेका मिक्लाजुङका शिक्षकको अन्त्येष्टि आज

काठमाडौं । गत मंगलवार बिहान घरबाटै विप्लव समूहका कार्यकर्ताले अपहरण गरी विकट बर्खे जंगलमा लगि घाँटी रेटी हत्या गरेका शिक्षक राजेन्द्र श्रेष्ठको आज अन्त्येष्टि गरिएको छ ।

मोरङ मिक्लाजुङ गाउँपालिका वडा नम्बर- १ बर्खेका शिक्षक श्रेष्ठको शव पोष्टमार्टमको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उनको आज अन्त्येष्टि गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले लोकपथलाई जानकारी दिए ।

५२ बर्षका शिक्षक श्रेष्ठको हात पछाडि बाँधेर घाँटी रेटी हत्या गरिएको विभत्स अवस्थामा शव भेटिएको थियो ।

विकट क्षेत्र भएकाले विप्लव समुहले ति क्षेत्रमा आफ्ना विभिन्न गतिविधी अगाडी बढाएका छन् ।

सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक श्रेष्ठ मिलनसार र समाजसेवी भएका कारण विभत्स हत्याको घटनाले गाउँ शोकमा डुबेको छ ।

घटनाको जिम्मा लिँदै प्रतिबन्धित विप्लबले प्रतिकारमा श्रेष्ठ मारिएको दावी समेत गरेको छ ।

पार्टीका इन्चार्ज प्रतापको नामबाट मंगलबार जारी विज्ञप्तिमा श्रेष्ठ पार्टीको सुराकी भएको आरोप लगाइएको छ भने उनलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा मृत्यु हुन पुगेको दावी गरिएको छ । मिक्लाजुङ गाउँपालिका १ का श्रेष्ठले २०७६ फागुन २६ गते पार्टीको मेची–कोसी बैठकका क्रममा प्रहरी बोलाएको दमन गरेको, प्रहरीको सुराकीको रुपमा काम गरेको, नेता कार्यकर्तालाई पक्राउ गराएकोलगायतका आरोप विप्लव समूहले लगाएको छ ।

उनको अपहरणपछि स्थानीयले ६ जनाको समूहले पाता फर्काएर लगेको बताएका थिए ।

मृतक शिक्षक श्रेष्ठको पोष्टमार्टम रिपोर्ट आउँन बाँकी रहेको डिएसपी राईले लोकपथलाई बताए ।

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस्  : 

शिक्षकको निर्मम हत्या गरेको विप्लव समूहले विज्ञप्ती निकालेर लेख्यो हत्याको ४ कारण (विज्ञप्तीसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?