अमेरिकी निर्भरता घटाउन क्यानाडाको नयाँ बजेट

लोकपथ
0
Shares
USA and Canada Flags

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संरक्षणवादी व्यापार नीतिबाट अर्थतन्त्र प्रभावित भएपछि क्यानाडाले अमेरिकामाथिको निर्भरता घटाउँदै व्यापारिक सम्बन्ध विविधीकरण गर्ने लक्ष्यसहित नयाँ बजेट सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री मार्क कार्नी सरकारले बिहीबार प्रस्तुत गरेको बजेटलाई ‘आफ्नो भविष्यको निर्णय आफैँ गर्ने’ योजनाका रूपमा अघि सारेको छ । उनले क्यानाडा र अमेरिकाबीचको सम्बन्ध स्थायी रूपमा परिवर्तन भइसकेको भन्दै ट्रम्प प्रशासनअघिको शुल्कमुक्त व्यापारिक अवस्था फर्कने सम्भावना नरहेको बताएका छन् ।

अर्थमन्त्री फ्राँस्वा–फिलिप शाम्पेनका अनुसार बजेटको मुख्य उद्देश्य घरेलु व्यापार प्रवद्र्धन र अन्तर्राष्ट्रिय साझेदारी विविधीकरण गर्नु हो ।

बजेटले ऊर्जा उत्पादन, महत्त्वपूर्ण खनिज उत्खनन र पूर्वाधार विकासलाई प्राथमिकता दिँदै अमेरिकी भन्सार शुल्कबाट प्रभावित अटोमोबाइल तथा स्टिल उद्योगका श्रमिकलाई सहयोग गर्ने योजना अघि सारेको छ ।

अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय भोगेपछि क्यानाडामाथि लगाइएका भन्सार शुल्कको भविष्य थप अनिश्चित बनेको छ । डेमोक्रेटिक पार्टीका सांसद जेमी रास्किनले आफ्नो पार्टीले शुल्क हटाउने र क्यानाडासँगको सम्बन्ध सुधार्ने बताएका छन् । तर, क्यानाडाका व्यापारमन्त्री डोमिनिक लेब्लाङ्कले शुल्कसम्बन्धी वार्ता अमेरिकी कङ्ग्रेससँग नभई ह्वाइट हाउससँग हुने स्पष्ट पारेका छन् ।

कार्नी र ट्रम्पले व्यापार सम्झौताको सम्भावनाप्रति आशा व्यक्त गरे पनि यसअघिका वार्ता अवरुद्ध भएका थिए ।

सरकारले बजेट घाटा गत वर्ष अनुमान गरिएको ७८।३ अर्ब क्यानाडाली डलरभन्दा कम रहने अपेक्षा गरेको छ । यसअघि बजेट पारित गर्न विपक्षीको सहयोग आवश्यक परेको लिबरल पार्टीले अहिले संसद्मा बहुमत प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?