विप्लव समूहद्वारा हत्या गरिएका श्रेष्ठको शव पोष्टमार्टमका लागि लगियो

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लब नेतृत्वको कार्यकर्ताद्धारा हत्या गरिएका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको शव पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

मोरङको मिक्लाजुङ १ रमितेखोलास्थित बर्खे गाउँमा घरबाटै अपहरणमा परेका श्रेष्ठको हत्या मंगलवार बिहान विप्लव समूहका कार्यकर्ताले हत्या गरेका थिए ।

मंगलवार हत्या गरिएका उनको शव बुधवार दिउँसो पोष्टमार्टमका लागि प्रतिष्ठानमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सन्तोष खड्काले लोकपथलाई जानकारी दिए ।

विप्लब समूहले हत्याका लागि विभिन्न ४ कारणहरु देखाएको छ ।

पार्टीका इन्चार्ज प्रतापको नामबाट मंगलवार जारी विज्ञप्तिमा श्रेष्ठ पार्टीको सुराकी भएको आरोप लगाइएको छ भने उनलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा मृत्यु हुन पुगेको दावी गरिएको छ ।

श्रेष्ठलाई घरबाटै अपहरण गरी घरबाट करिब एक किलोमिटर दुरीमा रहेको जंगलमा लगेर घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको थियो।

उनको हत्या भएको स्थानमा कुनै पनि हातहतियार फेला नपरेको एसपी खड्काले जानकारी दिए ।

शिक्षक श्रेष्ठलाई हतियारसहित आएका चार जनाले लगेको बताएका छन् ।

हिजो बिहान करिब ७ बजेतिर घटना भएको भएपनि भौगोलिक विकटताको कारण प्रहरी टोली दिउँसोमात्र घटनास्थल पुगेको थियो ।

मिक्लाजुङ गाउँपालिका १ का श्रेष्ठले २०७६ फागुन २६ गते पार्टीको मेची–कोसी बैठकका क्रममा प्रहरी बोलाएको दमन गरेको, प्रहरीको सुराकीको रुपमा काम गरेको, नेता कार्यकर्तालाई पक्राउ गराएकोलगायतका आरोप विप्लव समूहले लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?