मोदीको सन्देश बालेनलाई, भारत भ्रमणदेखि के-के विषयमा भयो कुराकानी ?

लोकपथ
35
Shares

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ सँग भेटवार्ता गरेका छन् ।

बिहीबार दिउँसो भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री बालेनसँग भेट गरेका हुन् ।

भेटका क्रममा प्रधानमन्त्री बालेनले नेपालमा हालै गएको विनाशकारी रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले ‘फर्स्ट रेस्पोन्डर’का रूपमा राहत सामग्री दिनुका साथै उद्धार टोली खटाएर पुर्याएको सहयोगप्रति आभार व्यक्त गरे ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालले विपद्को सामना गरिरहेका बेला फोनमार्फत सहयोगको ऐक्यवद्धता जनाएकोमा समेत आभार व्यक्त गरे । यसैगरी प्रधानमन्त्री बालेनले नेपालको खेलकुदको विकासका लागि भारतसँग कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा पनि चासो राखेका थिए ।

सो क्रममा भारतीय विदेशसचिव मिस्रीले प्रधानमन्त्री बालेनको आसन्न भारत भ्रमणलाई लिएर तयारी तीव्र पारेको भारतीय प्रधानमन्त्री मोदीको सन्देशसहित जानकारी गराएका थिए । उनले प्रधानमन्त्री शाहको भारत भ्रमण सफल हुने गरी आफूहरुले तयारी गरिरहेको जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

साथै, भारतीय विदेश सचिव मिस्रीले ऊर्जा, जलस्रोत, व्यापार–पारवहन र उड्डयनसम्बन्धी नेपाल र भारतका द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको बताए ।

भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेलमार्ग सञ्चालनका लागि आवश्यक तयारी पुगेको समेत मिस्रीले प्रधानमन्त्री बालेनलाई जानकारी गराउँदै आज नै यो मार्गमा रेल परीक्षण सञ्चालन समेत भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?