एकैपटक सशस्त्र प्रहरीका १ हजार २ सय ९६ जना जवानहरु दिक्षित

लोकपथ
56
Shares

काठमाडौं । राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ तथा अन्य नौ वटा शिक्षालयमा संचालित सि.सं. २३९ सशस्त्र प्रहरी जवान आधारभूत तालिममा तालिमरत १ हजार २ सय ९६ जना प्रशिक्षार्थी जवानहरु दीक्षित भएका छन् ।

२०८२ साल मंसिर १९ गतेदेखि सञ्चालन भएको करिब १० महिना अवधिको तालिम सफलतापूर्वक सम्पन्न गरेका सशस्त्र प्रहरी जवानहरु असोज २९ गते दिक्षित भई कार्यक्षेत्र प्रवेश गरेका छन् ।

प्रशिक्षण प्रतिष्ठान मातातीर्थबाट १२३ जना, पाथिभरा जवान तालिम शिक्षालय झापाबाट ११७ जना, दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीबाट ११६ जना, युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी, नुवाकोटबाट २३३ जना र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११९ जना दीक्षित भएका छन् ।

त्यसैगरी हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन, पोखराबाट ११५ जना, सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट, पश्चिम नवलपरासीबाट १२५ जना, सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँकेबाट ११६ जना, राजस्व भन्सार तथा औद्योगिक सुरक्षा तालिम शिक्षालय टिकापुर, कैलालीबाट ११३ जना र बडिमालिका जवान तालिम शिक्षालय वनवेहडा, कैलालीबाट ११९ जना दीक्षित भएका हुन् ।

तालिमका क्रममा प्रशिक्षार्थीहरूले हासिल गरेको सैद्धान्तिक तथा व्यावहारिक ज्ञान, फौजी कला कौशल र दक्षताले उनीहरूमा अनुशासन, इमान्दारिता, कर्तव्यनिष्ठा, राष्ट्रप्रतिको समर्पण, मानवीय संवेदनशीलता तथा सांगठनिक जिम्मेवारीबोध गराउनुको साथै यसले कार्यक्षेत्रमा व्यावसायिक मर्यादा र उच्च नैतिक आचरण कायम राख्दै राष्ट्र र नागरिकको सेवामा समर्पित रहन प्रेरित गर्ने सशस्त्रले जनाएको छ ।

सरकारको आर्थिक सुशासन तथा पारदर्शिताको नीतिको पूर्ण रुपमा पालना गर्दै यस आधारभूत तालिमहरुको दिक्षान्त कवाज मितव्ययी ढंगबाट सम्पन्न भएको बताइएको छ ।

संगठनको आधारस्तम्भ, शक्ति र सफलताका वास्तविक संवाहक मानिने जवानहरू एकै पटक उल्लेखित संख्यामा दीक्षित भई कार्यक्षेत्र प्रवेश गर्दा सशस्त्र प्रहरी बल, नेपालले सम्पादन गर्दै आईरहेको सीमा सुरक्षा, विपद् व्यवस्थापन तथा आन्तरिक सुरक्षालगायतका महत्पूर्ण जिम्मेवारी निर्वाहमा टेवा पुग्ने विश्वास गरिएको छ ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश बहादुर ठाडा मगरको प्रमुख आतिथ्यमा पाथिभरा जवान तालिम शिक्षालय झापा र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) अञ्जनी कुमार पोखरेलको प्रमुख आतिथ्यमा युएन शान्ति स्थापना तालिम शिक्षालय ककनीमा संचालित आधारभूत तालिमको दिक्षान्त कवाज सम्पन्न भएको हो ।

यसैगरी राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित आधारभूत तालिमको सोही प्रष्ठिानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुरुषोत्तम थापा, दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) बिष्णुप्रसाद भट्ट, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सशस्त्र प्रहरी नायव महानिरीक्षक राजेन्द्र खड्का, हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रविण कडेल, सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटमा सशस्त्र प्रहरी नायव महानिरीक्षक किरण बस्नेत, सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपक अधिकारी, राजस्व भन्सार तथा औद्योगिक सुरक्षा तालिम शिक्षालय टिकापुरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपेन्द्र कुँवर र बडिमालिका जवान तालिम शिक्षालय वनवेहडा कैलालीमा सशस्त्र प्रहरी नायव महानिरीक्षक नेत्रबहादुर कार्कीको प्रमुख आतिथ्यमा दीक्षान्त कवाज सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?