भदौमा मात्रै २ खर्ब २१ अर्ब रुपैयाँ विप्रेषण भित्रियो

लोकपथ
42
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को भदौ महिनामा नेपालमा २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । यो अघिल्लो आर्थिक वर्षको भदौ महिनाको तुलनामा बढी हो । गत वर्षको भदौमा १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ विप्रेषण भित्रिएको थियो ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो दुई महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार साउन र भदौमा गरी कुल ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २३.९ प्रतिशतले बढी हो । अघिल्लो वर्षको पहिलो दुई महिनामा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा हिसाब गर्दा पनि विप्रेषण आप्रवाह १३.५ प्रतिशतले बढेर २ अर्ब ८५ करोड अमेरिकी डलर पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धि २७.६ प्रतिशत थियो ।

त्यस्तै, समीक्षा अवधिमा खुद द्वितीय आय अर्थात् खुद ट्रान्सफर ४ खर्ब ६९ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम ३ खर्ब ८४ अर्ब ८८ करोड रुपैयाँ थियो ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ७८ हजार ३२० रहेको छ । त्यस्तै, पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५१ हजार १३६ रहेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ९० हजार १९८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५ हजार ८८४ थियो । यसअनुसार नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या घटेको छ भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?