अख्तियारमा झुटो उजुरी दिएर अरुलाई फसाउन खोज्दा आफैँ जरिवानामा परेपछि…

लोकपथ
931
Shares

काठमाडौं । अरुको नाममा झुट्टो उजुरी दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती व्यक्तिलाई २ हजार जरिवाना गराएको छ ।

झुटो उजुरीका आधारमा जरिवाना तोकिएका व्यक्ति हुन् रुकुमपश्चिमको आठविसकोट नगरपालिका–५ का दिपक पुन मगर ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार एबी राई अर्थात् आङबाबु राईको नामबाट आफू ठगीमा परेको उजुरी अख्तियारमा आउँछ । आफूलाई नेपाल प्रहरी मातहत नायव महानिरीक्षक (डीआईजी) बताउने व्यक्तिले आफू अध्यक्ष रहेको सहकारीबाट ऋण लिएको खुलाइएको थियो । तर ती डीआईजी बताउने व्यक्तिसँग रकम माग गर्दा आफूविरुद्ध परेको उजुरी मिलाइ दिने भन्दै ४० लाख मध्ये १५ लाख नगद र आफ्नो कान्छी श्रीमतीको नाममा थप चेक लिई धम्की दिएर रकम माग गरिरहेको भन्दै त्यस विषयमा अनुसन्धान गर्न माग गरिएको थियो ।

त्यसपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा एबी राई अर्थात् आङबाबु राईले आफूले उजुरी नदिएको तथा उजुरीमा भएको हस्ताक्षर समेत आफ्नो नरहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा सनाखत गरे ।
तर अख्तियारले शंका लागेका रुकुम पश्चिमको आठबिसकोटका दिपक पुन मगरमाथि अनुसन्धान अघि बढायो । अख्तियारले ०८३ साल असार १७ गते मगरसँग बयान समेत लिएको थियो । सो क्रममा मगरले आफूले नै एबी राईको नामबाट अख्तियारमा उजुरी दिएको स्वीकार गरे ।

आयोग समक्ष बयानका क्रममा दिपक पुन मगर र आङबाबु राईले आफूहरुमाथि कुनै किसिमको धम्की नआएको र रकम नफसेको समेत बयान दिएका थिए ।

एबी राईको नामबाट अख्तियारमा उजुरी दिने मगरलाई भ्रष्टाचार निवारण ऐन २०४८ को दफा ४९ लगायत प्रचलित कानुन बमोजिम २ हजार जरिवाना गरिएको अख्तियारका प्रवक्ता न्यौपानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?