‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान पछि धकेलियो : केपी ओली

लोकपथ
21
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य प्राप्त गर्ने यात्रामा पछिल्लो समय धक्का लागेको बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै उनले पछिल्ला राजनीतिक तथा अन्य घटनाक्रमले विकासको गन्तव्य केही दशक पछाडि धकेलेको बताएका हुन् ।

उनले विकासको यात्रा पछाडि धकेलिँदैमा आफूहरू असफल वा पराजित भएको भन्न नमिल्ने जिकिर गरे । आफ्नो कार्यकालमा अघि सारिएका सामाजिक क्षेत्रका सुधारलाई समाजवादउन्मुख राज्य निर्माणका प्रयासका रूपमा व्याख्या गर्दै उनले ती कामको महत्त्व कुनै साइनबोर्ड हटाउँदैमा समाप्त नहुने बताए ।

ओलीले सडक बालबालिकाको उद्धार तथा व्यवस्थापन, असहाय र बेसहारा सडक मानवको संरक्षण र सडकमा भिक्षा माग्नुपर्ने अवस्थाको अन्त्यका लागि गरिएका प्रयासलाई सरकारको जिम्मेवार व्यवहारको उदाहरणका रूपमा प्रस्तुत गरे ।

त्यसैगरी, ज्येष्ठ नागरिक भत्ता, स्वास्थ्य बीमा, सामाजिक सुरक्षा कार्यक्रम र बालबालिकाका लागि सञ्चालन गरिएको ‘खोलौँ खाता’ अभियानलाई उनले मानवतावादी तथा समाजवादउन्मुख कदमका रूपमा चर्चा गरे ।

सरकारको जिम्मेवारी जवाफदेहिता र हिसाबकिताबमा मात्र सीमित नहुने उनको भनाइ थियो । आमाले आफ्ना सन्तानको हेरचाह माया र आत्मीयताका साथ गरेजस्तै सरकारले पनि नागरिकप्रति जिम्मेवार भएर काम गर्नुपर्ने उनले बताए ।

आफ्नो कार्यकालमा भएका विकास निर्माणका काममाथि हुने आलोचनालाई लक्षित गर्दै ओलीले नागढुङ्गा क्षेत्रमा राखिएको साइनबोर्डसम्बन्धी विवादलाई सामान्य प्राविधिक विषय भएको जिकिर गरे । साइनबोर्ड हटाउँदैमा आफूहरूले गरेका सामाजिक कामको महत्त्व र इतिहास मेटाउन नसकिने उनको भनाइ थियो ।

‘सुखी नेपाली’ बनाउने हो भने सबैभन्दा पहिले जनताका दुःख निवारण गर्नुपर्नेमा जोड दिँदै ओलीले गरिबी, अभाव र असहाय अवस्थाको अन्त्य गरी नागरिकका आधारभूत आवश्यकता पूरा गर्ने वातावरण बनाउनुपर्ने बताए ।

‘पहिले दुःख निवारण, त्यसपछि सुख प्राप्ति’ भन्ने सोचका साथ आफूहरूले सामाजिक न्याय र समृद्धिको बाटो अघि बढाएको उल्लेख गर्दै उनले नागरिकको दुःख कम गर्नु नै सुखी नेपाली निर्माणको आधार भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?