काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले रसुवा र भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित परिवारका लागि एक हजार अस्थायी आवास र एक हजार स्थायी घर निर्माण गर्ने भएको छ । साथै, बाढीले घर गुमाएका करिब पाँच हजार लाभग्राहीलाई भाडा सहायता उपलब्ध गराइने भएको छ ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिका अध्यक्ष विशालकुमार भण्डारीले बिहीबार पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको भवन विभागसँग आवास निर्माण तथा भाडा सहायता कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको जानकारी दिएका हुन् ।
सम्झौताअनुसार बाढी प्रभावित परिवारलाई अस्थायी बसोवासको व्यवस्था गर्ने, स्थायी घर निर्माण गर्ने र घर गुमाएका परिवारलाई भाडा सहायता उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
अध्यक्ष भण्डारीका अनुसार सम्झौता तत्काल कार्यान्वयनमा जानेछ । दशैँलगत्तै कार्ययोजना तयार गरिने र सरकारले आवश्यक जग्गा उपलब्ध गराएपछि अस्थायी आवास तथा स्थायी घर निर्माणको प्रक्रिया अघि बढाइनेछ ।
उनले रसुवा र भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित परिवारलाई लक्षित गरी आवास निर्माणको योजना अघि बढाइएको बताए ।
‘बाढीबाट प्रभावित लाभग्राहीलाई लक्षित गरेर अहिले एक हजार अस्थायी आवास र एक हजार स्थायी घर निर्माण गर्ने गरी मन्त्रालयसँग सम्झौता गरेका छौँ । घर बगाएका करिब पाँच हजार लाभग्राहीलाई भाडा सहायता उपलब्ध गराउने सहमति पनि भएको छ,’ उनले भने ।
आवास निर्माणको नेतृत्व भवन विभागले गर्नेछ । रेडक्रस र भवन विभागबीच भएको सम्झौताअनुसार बाढीबाट घर गुमाएका परिवारलाई अस्थायी बसोवास, स्थायी आवास निर्माण तथा भाडा सहायतामार्फत राहत उपलब्ध गराइनेछ ।
सम्झौतामा भवन विभाग र नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?












प्रतिक्रिया