काठमाडौं । बिहीबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । पछिल्लो पाँच कारोबार दिनदेखि बढिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो । नेप्सेसँगै कारोबार रकमसमेत बढेको छ ।
यस दिन नेप्से परिसूचक ४.५६ अंक बढेर २६२५.८२ विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स १.०१ अंक, फ्लोट इन्डेक्स ०.४१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३४ अंक बढेको छ ।
बुधबार ४ अर्ब १३ करोड रुपैयाँको सेयर कारोबार भएको बजारमा बिहीबार ४ अर्ब ७१ करोड ७० लाख २८ हजार रुपैयाँको कारोबार भएको छ । यस दिन ३४९ कम्पनीका १ करोड ३६ लाख २४ हजार कित्ता सेयर ३८ हजार ८६१ पटकको कारोबारमा खरिदबिक्री भएका छन् ।
यस दिन बेनी हाइड्रोपावर प्रोजेक्टको सेयर मूल्य सकारात्मक सर्किट लागेको छ । दोस्रो बजारमा बिहीबारदेखि कारोबार सुरु भएको कम्पनीको सेयर मूल्य ४० रुपैयाँ ९० पैसा बढेर ३१३ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ ।
त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य र लक्ष्मी उन्नति कोषको इकाइ मूल्य करिब साढे ६ प्रतिशत बढेको छ। मूल्य घटेका सेयर तथा इकाइमध्ये कुनैको पनि गिरावट ३ प्रतिशत पुगेको छैन ।
कारोबार रकमका आधारमा कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको २३ करोड ६१ लाख ३१ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ। अपि पावर कम्पनीको करिब २३ करोड रुपैयाँ र घलेम्दी हाइड्रोको साढे १८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये नौवटाको परिसूचक बढेको छ भने चारवटाको घटेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक १.०३ प्रतिशत बढेको छ ।
बैंकिङ, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक भने सामान्य घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?












प्रतिक्रिया