प्रधानमन्त्रीलाई गगनको सुझाव– ‘विगतको विरासत बोकेर, भविष्यको अगुवा बनेर जानुस्’

लोकपथ
42
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको हितका विषयलाई प्रभावकारी रूपमा उठाउन सरकारलाई आग्रह गरेका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘द ग्रीन टेबल’को १८औँ श्रृंखला ‘हिमचुलीको हलचलः भोटेकोशीको चेतावनी र विश्वको साझा जिम्मेवारी’ विषयक संवाद कार्यक्रममा थापाले यस्तो आग्रह गरेका हुन् ।

उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन लागेको पहिलो पटक भएकै कारण आत्तिनुपर्ने अवस्था नरहेको बताए । विगतका सरकारको विरासत बोकेर तथा आगामी सरकारको अगुवा बनेर निर्धक्कका साथ नेपालको धारणा राख्न उनले प्रधानमन्त्रीलाई सुझाव दिए ।

महासभामा प्रधानमन्त्रीले सिंगो देश र सबै नेपालीको भावनाको प्रतिनिधित्व गर्नुपर्ने थापाको भनाइ छ । जलवायु परिवर्तनका विषयमा नेपालभित्रै धेरै अध्येता तथा विज्ञले अध्ययन र काम गरिरहेको भन्दै उनीहरूको सुझाव लिएर प्रमाणसहित अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुन उनले आग्रह गरे ।

उनले भने, ‘तपाईं हामी सबै नेपालीको भावनालाई प्रतिनिधित्व गरेर संयुक्त राष्ट्रसंघको महासभामा जाँदै हुनुहुन्छ । योभन्दा अगाडिका सरकारको पनि विरासत बोकेर जाँदै हुनुहुन्छ । योभन्दा पछाडि आउने सरकारको पनि अगुवा बनेर जाँदै हुनुहुन्छ । सिंगो देशलाई प्रतिनिधित्व गरेर जाँदै हुनुहुन्छ ।’

नेपालले महासभामा आफ्नो हितका लागि के विषयमा आवाज उठाउने र के विषयमा लड्ने भन्ने स्पष्ट हुनुपर्ने थापाले बताए । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा तत्काल बस्ती बसाउने कि नबसाउनेदेखि विपद् व्यवस्थापनसँग सम्बन्धित संस्थालाई कसरी बलियो बनाउने भन्नेसम्मका विषयमा स्पष्ट धारणा आवश्यक रहेको उनको भनाइ छ ।

थापाले जलवायु परिवर्तनको मुद्दालाई नेपालको प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । उनले जलवायु परिवर्तनका असरबारे अनुमानका आधारमा नभई अध्ययन, तथ्य र प्रमाणका आधारमा अन्तर्राष्ट्रिय समुदायसमक्ष विषय प्रस्तुत गर्नुपर्ने बताए ।

उनले भने, ‘हाम्रो आफ्नो लागि लड्ने के हो ? विपद्को प्रभाव जुन ठाउँमा परेको छ, त्यस ठाउँमा तुरुन्तै बस्ती बसाउने कि नबसाउने ? भन्ने विषयदेखि लिएर हाम्रो संस्थालाई कसरी बलियो बनाउने भन्ने छ । जलवायु परिवर्तनको मुद्दा केन्द्रमा राख्नुपर्छ । अनुमानका आधारमा नभई प्रमाणका आधारमा राख्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?