खेलाडीका समस्या समाधान गर्दै खेल क्षेत्रको विकास गर्छौं : मुख्यमन्त्री थापा

लोकपथ
21
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेल क्षेत्रको विकास र खेलाडी उत्पादनका लागि प्रदेश सरकारले आवश्यक बजेट व्यवस्थापन गर्ने बताएका छन् ।

हेटौँडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयले शनिबार आयोजना गरेको दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री थापाले खेलाडीका समस्या समाधान गर्दै उनीहरूलाई व्यवस्थित रूपमा अघि बढाउने नीति प्रदेश सरकारले लिने बताए ।

खेलाडीलाई आवश्यक प्रशिक्षक, पूर्वाधार र अवसर उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको उनले बताए । खेलाडी उत्पादनका लागि स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय आवश्यक रहेको उनको भनाइ थियो ।

प्रदेश सरकारले १३ जिल्ला र ११९ स्थानीय तहमा सम्भावनायुक्त खेल क्षेत्रलाई मागका आधारमा बजेट विनियोजन गर्दै आएको मुख्यमन्त्री थापाले जानकारी दिए । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीले देशको झण्डा बोकेर मैदानमा उत्रिँदा नेपालको पहिचान र गौरव बढ्ने उनले बताए ।

उनले विगतमा विभिन्न स्वार्थका लागि खेलाडीको प्रयोग हुँदा खेल क्षेत्र नै बदनाम भएको उल्लेख गरे । निर्माण व्यवसायीले ठेक्कापट्टाका क्रममा तथा राजनीतिक दलहरूले निर्वाचनका समयमा खेलाडीको प्रयोग गर्ने गरेको भन्दै खेलाडीलाई त्यस्ता गतिविधिबाट अलग राख्नुपर्ने उनको भनाइ थियो ।

खेल आत्मरक्षा र प्रतिस्पर्धाका लागि महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै मुख्यमन्त्री थापाले खेलाडीलाई वडा, पालिका र जिल्लादेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी हुने अवसर सिर्जना गर्नुपर्ने बताए ।

प्रदेश सरकारले खेलकुद मन्त्रालयमार्फत विभिन्न प्रतियोगिता आयोजना गर्नुका साथै डोजाङ, रंगशाला, कभर्डहल र खेलमैदान निर्माणमा सहयोग गर्दै आएको उनले बताए ।

कार्यक्रममा सन् २०२५ मा अजरबैजानको बाकुमा सम्पन्न अन्तर्राष्ट्रिय मार्सल आर्ट्स च्याम्पियनसिपमा ८५ केजी तौल समूहअन्तर्गत फुलकन्ट्याक्ट कराँतेमा स्वर्ण र किक बक्सिङमा कांस्य पदक जितेका सुदर्शन खतिवडालाई सम्मान गरिएको थियो ।

मकवानपुर तेक्वान्दो डोजाङको व्यवस्थापन तथा जिल्ला तेक्वान्दो डोजाङ मकवानपुरको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन भइरहेको छ । प्रतियोगितामा १४ वटा डोजाङबाट महिला तथा पुरुष गरी १६० जना खेलाडी सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगिता महिला र पुरुषतर्फ विभिन्न सात तौल समूहमा सञ्चालन हुनेछ । प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ भने उत्कृष्ट पुरुष र महिला खेलाडीलाई जनही ३ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?