काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले ६ प्रतिशत वार्षिक ब्याजदरमा ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ ।
बैंकले ‘६ प्रतिशत आरबीबीएल ऋणपत्र २०८९’ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट विवरणपत्र प्रकाशनको स्वीकृति पाएको हो ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । ६ वर्ष अवधिको उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक ६ प्रतिशत ब्याज पाउनेछन् ।
कुल ३० लाख कित्तामध्ये १८ लाख कित्ता अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तथा संस्थागत लगानीकर्ताका लागि छुट्याइएको छ । त्यस्तै, बाँकी १२ लाख कित्ता अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि बिक्री गरिनेछ ।
धितोपत्र बोर्डले बैंकलाई २०८३ साल असार २ गते ऋणपत्रको विवरणपत्र प्रकाशनका लागि स्वीकृति दिएको हो । ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।
बैंकले दीर्घकालीन स्रोत परिचालन गरी आफ्नो वित्तीय स्रोतको आधार बलियो बनाउने उद्देश्यले ऋणपत्र निष्कासन गर्न लागेको जनाएको छ । ऋणपत्रबाट प्राप्त रकम बैंकले दीर्घकालीन वित्तीय स्रोतका रूपमा प्रयोग गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया