काठमाडौं । संविधान दिवसको अवसरमा काठमाडौं शिक्षालय ललितपुरले बाढीपहिरो प्रभावितप्रति ऐक्यवद्धता जनाउँदै साइकल र्याली आयोजना गरेको छ ।
‘बाढीपीडितका लागि साइकल र्याली, मानवताका लागि एकता’ नारासहित आयोजित र्यालीमा ३०० भन्दा बढी साइक्लिस्ट सहभागी भएका थिए । महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले र्यालीको उद्घाटन गरेका थिए ।
इमाडोलबाट सुरु भएको र्याली ग्वार्को, बालकुमारी, टिकाथली, बालकोट, लुभु र लामाटार हुँदै पुनः विद्यालय परिसरमा आएर सम्पन्न भएको थियो । र्याली २० र २५ किलोमिटर गरी दुई विधामा सञ्चालन गरिएको थियो ।
विद्यालयका अध्यक्ष एवं पर्वतारोही प्रकाशराज पाण्डेले साइकल र्यालीलाई खेलकुदसँगै सामाजिक उत्तरदायित्व, मानवीय सेवा र वातावरण संरक्षणसँग जोडिएको अभियानका रूपमा अघि बढाइएको बताए ।
विद्यालयका अनुसार र्यालीको दर्ता शुल्कबाट संकलित रकमको २५ प्रतिशत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिनेछ । विद्यालयले अबदेखि हरेक वर्ष संविधान दिवसका अवसरमा साइकल र्याली आयोजना गर्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया