काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आफूले दमन नगर्न र गोली नचलाउन निर्देशन दिए पनि योजनाबद्ध ढंगले गोली चलाइएको दाबी गरेका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित संविधान दिवस समारोहलाई सम्बोधन गर्दै ओलीले आन्दोलनका क्रममा भएको हिंसा र त्यसपछिका घटनालाई योजनाबद्ध षड्यन्त्रको संज्ञा दिएका हुन् ।
उनले भदौ २३ गते नवयुवासहित युवाहरूको हत्या गर्ने योजना बनाइएको र त्यसलाई निहुँ बनाएर भोलिपल्ट राष्ट्रव्यापी रूपमा लुटपाट, हिंसा, आतंक र अराजकता फैलाइएको दाबी गरे ।
ओलीले भने, ‘गत वर्ष एउटा आम कत्लेआम, नरहत्याको योजना रचना गरियो । त्यस योजना अन्तर्गत २३ गते अनावश्यक ढंगले नवयुवाहरुको र अरु युवाहरुको हत्याको काण्ड घटाउने काम भयो योजनावद्ध ढंगले, षड्यन्त्रपूर्ण ढंगले । त्यसलाई निहुँ बनाएर भोलिपल्ट राष्ट्रव्यापी रुपमा लुटपाट, हिंसा, आतंक, अराजकता फिजाउनुथियो, त्यो फिजाइयो ।’
उनले आन्दोलनका क्रममा गोली चलेको विषयलाई समेत षड्यन्त्रपूर्ण भएको दाबी गरे । आफू प्रधानमन्त्री हुँदा दमन नगर्न र गोली नचलाउन निर्देशन दिएको भन्दै उनले गोली कसरी चल्यो भन्ने विषयमा प्रश्न उठाए ।
‘हामीले त चलाएनौँ, नचलाउनु भनेको थियो । प्रधानमन्त्री म थिएँ, मैले नचलाउनु, दमन नगर्नु भनेको थिएँ । दमन भयो किन ?’ ओलीले प्रश्न गरे ।
उनले सिंहदरबार, संसद् भवनलगायतका संरचना जलाउने विषय आन्दोलनको दिन मात्रै उठेको नभई त्यसअघि नै योजनाबद्ध रूपमा प्रचार गरिएको दाबी पनि गरे ।
ओलीले देशलाई अराजकताको भुमरीमा राखेर स्वार्थ पूरा गर्ने उद्देश्यले घटनाहरू भएको आरोप लगाए । जनताले निर्वाचनमार्फत दिएको वैधानिक निर्णयलाई केही हजार मानिसलाई अगाडि सारेर सडकबाट ध्वस्त पार्ने प्रयास गरिएको उनको दाबी थियो ।
उनले असंवैधानिक ढंगले प्रतिनिधि सभा विघटन गरिएको र त्यसलाई वैधानिकता दिनका लागि भदौ २४ गते ठूलो राष्ट्रिय क्षति गराइएको आरोप लगाए । घटनाका सम्बन्धमा बनेका आयोगहरूले समेत प्राप्त नतिजा सार्वजनिक गर्न डराएको उनको दाबी थियो ।
ओलीले लोकतान्त्रिक र संवैधानिक विधिबाट नेपाललाई अघि बढ्न नदिइएको बताए । संविधानसम्मत र लोकतान्त्रिक प्रक्रियाबाट मुलुक अघि बढाउनुपर्नेमा उनले जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया