काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टाको अवधिमा १ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम जम्मा भएको छ ।
अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न १० वटा वाणिज्य बैंकमा रहेका कोषका खातामा दाताहरूले १ अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ जम्मा गरेका छन् ।
बुधबार बिहान नेपाल–चीन सीमा हुँदै बग्ने भोटेकोशी नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति गरेपछि सरकारले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि राहत तथा उद्धारका लागि कोषमा सहयोग जम्मा हुन थालेको हो ।
सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम संकलन तथा समन्वयको जिम्मेवारी अर्थ मन्त्रालयलाई दिएको छ । संस्थागततर्फ १ करोड रुपैयाँ वा सोभन्दा बढी सहयोग गर्ने दाताको रकम अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले स्वयं स्वीकार गरिरहेका छन्। व्यक्तिगततर्फको नगद सहयोग भने दाताले मन्त्रालयमै पुगेर बुझाउन सक्ने व्यवस्था गरिएको छ ।
नयाँ सहयोग रकम थपिएसँगै कोषमा रहेको कुल बचत ४ अर्ब ९ करोड ११ लाख ६० हजार रुपैयाँ पुगेको छ । यसअघि कोषमा २ अर्ब १७ करोड २५ लाख ९ हजार ७५९ रुपैयाँ बचत थियो ।
यसैबीच, बिहीबार ६ घण्टाको अवधिमा मात्रै निजी क्षेत्रका दाताबाट मन्त्रालयमार्फत २७ करोड ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो । यो रकममा विभिन्न मित्रराष्ट्रले घोषणा गरेको सहयोग भने समावेश छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया