काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी ग्रेट वाल मोटर (जीडब्लुएम) का दुई सवारीसाधन ओरा ५ र हाभल एच ७ ले सन् २०२६ को युरो एनक्याप सुरक्षा परीक्षणमा पाँचतारे रेटिङ प्राप्त गरेका छन् ।
अन्तर्राष्ट्रिय स्तरको सवारीसाधन सुरक्षा परीक्षण गर्ने संस्था युरो एनक्यापले दुवै मोडललाई उच्चतम पाँचतारे रेटिङ दिएको हो । यस उपलब्धिले जीडब्लुएमको सुरक्षा प्रविधि र इन्जिनियरिङ क्षमतालाई अन्तर्राष्ट्रिय मान्यता मिलेको कम्पनीले जनाएको छ ।
युरो एनक्यापले सवारीसाधनको परीक्षण गर्दा यात्रुको सुरक्षा, दुर्घटनाका बेला हुने जोखिम, दुर्घटनापछिको सुरक्षा व्यवस्था र चालकलाई सहयोग गर्ने प्रविधिको मूल्यांकन गर्छ ।
कम्पनीका अनुसार विद्युतीय एसयूभी ओरा ५ ले परीक्षणका चारवटै क्षेत्रमा राम्रो प्रदर्शन गरेको छ । विशेषगरी दुर्घटनाका बेला यात्रुको सुरक्षा र दुर्घटनापछिको सुरक्षासम्बन्धी परीक्षणमा यसले उल्लेखनीय नतिजा हासिल गरेको छ ।
ओरा ५ मा ब्याट्री सुरक्षाका लागि ड्रागन आर्मर ब्याट्री प्रोटेक्सन प्रणाली र डायु ब्याट्री सुरक्षा प्रविधि प्रयोग गरिएको छ । त्यस्तै, आधुनिक चालक सहायता प्रणाली (एडास), बलियो बडी संरचना र स्पिड असिस्टेन्स सिस्टमजस्ता सुविधा पनि उपलब्ध छन् ।
यसअघि जीडब्लुएमका सवारीसाधनले एएनक्याप सुरक्षा परीक्षणमा समेत पाँचतारे रेटिङ प्राप्त गरिसकेका छन् ।
नेपालका लागि जीडब्लुएमको आधिकारिक आयातकर्ता तथा वितरक भिजी इम्पेक्स प्रालिले ओरा ५ र हाभल एच ७ ले प्राप्त गरेको उपलब्धिले नेपाली बजारमा ब्रान्डप्रतिको विश्वास थप बढाउने अपेक्षा गरेको छ ।
३५ वर्षभन्दा लामो इतिहास भएको जीडब्लुएम विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रमा सञ्चालनमा छ। कम्पनीका अनुसार हालसम्म विश्वभर यसका एक करोडभन्दा बढी सवारीसाधन बिक्री भइसकेका छन् । कम्पनीले विद्युतीय तथा आधुनिक प्रविधियुक्त सवारीसाधनको विकाससँगै सुरक्षा प्रविधिलाई प्राथमिकता दिँदै आएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?















प्रतिक्रिया