काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र इप्पान सम्बद्ध जलविद्युत कम्पनीहरुले सरकारलाई ५ करोड बढी आर्थिक सहयोग गर्ने भएका छन् ।
रसुवागढी बाढीपछि बसेको इप्पानको आकस्मिक बैठकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५ करोड ५ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएको हो ।
‘…इप्पान तथा इप्पान सम्बद्ध जलविद्युत कम्पनीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड ५ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ,’ इप्पानका महासचिव टीएन आचार्यले भने ।
महासचिव आचार्यका अनुसार उपयुक्त समयमा उर्जामन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा सरकारलाई सहयोग रकम बराबरको चेक हस्तान्तरण गरिनेछ ।
उर्जा क्षेत्र समृद्धिसँग मात्र नभएर नेपाली जनताको सुख–दुःखसँग समेत जोडिएको क्षेत्र रहेको इप्पानका अध्यक्ष मोहनकुमार ढाँगीले बताए ।
‘ऊर्जा क्षेत्र नेपालको समृद्धिसँग मात्र होइन, नेपाली जनताको सुख–दुःखसँग पनि जोडिएको क्षेत्र हो । विपद्को समयमा सम्पूर्ण सदस्य कम्पनीहरू एकजुट हुँदा त्यसले पीडित परिवारको जीवनमा ठूलो राहत र आशाको सञ्चार गर्न सक्छ,’ उनले बैठकपछि भने, ‘यस मानवीय अभियानमा इप्पानका सम्पूर्ण सदस्य कम्पनीहरूको सक्रिय र उदारपूर्वक सहयोग गर्न अनुरोध गर्दछौँ ।’
रसुवा बाढीपछि सरकारले घोषणा गरेको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा विभिन्न संस्था तथा व्यक्तिगत तबरबाट समेत सहयोग आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया