काठमाडौं । कञ्चनपुरका पत्रकार खेम भण्डारी बिहीबार बिहान पक्राउ परेका छन् ।
प्रहरीले भीमदत्त नगरपालिका–१८ कटानबाट उनलाई पक्राउ गरेको हो ।
कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार, भण्डारीलाई अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएको हो ।
पक्राउपछि प्रहरी हिरासतमा राखिएका भण्डारीलाई अदालतमा पेस गर्ने तयारी रहेको डीएसपी रावतले जानकारी दिए ।
कञ्चनपुरकी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणका विषयमा गाली बेइज्जतीको मुद्दामा पत्रकार भण्डारीलाई कञ्चनपुर जिल्ला अदालतले १ जेठ २०८२ मा दोषी ठहर गरेको थियो । जिल्ला अदालतले पत्रकार भण्डारीलाई १ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । उच्च अदालत दीपायलको महेन्द्रनगर इजलासले पनि २०८२ चैत २२ मा जिल्लाको फैसलालाई सदर गर्दै ७ दिन कैद र २ हजार १ सय रुपैयाँ जरिवाना थप गरेको थियो ।
निर्मला पन्त प्रकरणमा तथ्यहीन रूपमा आफूलाई जोड्दै समाचार लेखेको भन्दै कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्टका छोरा किरण विष्टले उनीविरुद्ध मुद्दा दायर गरेका थिए । तत्कालीन एसपी विष्टले भने एसएसपीबाट अवकाश पाइसकेका छन् ।
१० साउन २०७५ मा साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी पन्त भोलिपल्ट भीमदत्त नगरपालिकाकै निम्बुखेडा खोला किनारको उखुबारीमा मृत भेटिएकी थिइन् । यो प्रकरणका आरोपी अहिलेसम्म पहिचान हुनसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया