टिकटकर तुल्सी अधिकारी थाइल्याण्डबाट पक्राउ

शनिबार नेपाल ल्याइयो, भोलि अदालतमा पेस गरिने

लोकपथ
2.8k
Shares
टिकटकर तुलसा अधिकारी ।

काठमाडौं । चर्चित टिकटकर तुलसा अधिकारी भन्ने तुलसी अधिकारी पक्राउ परेकी छिन् । थाइलैन्डबाट पक्राउ परेकी उनलाई नेपाल ल्याएर अहिले ललितपुर प्रहरीको हिरासतमा राखिएको छ । उनको नाममा रातो सूची (रेड नोटिस) जारी भएको थियो । 

उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो । जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले चार महिनाअघि तुलसीविरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

हनी ट्र्याप अर्थात् आपराधिक लाभ र ठगीको कसुरमा परिवर्तित नाम शंकर चिमोरियाले दिएको जाहेरीको आधारमा अधिकारीविरुद्ध आपराधिक लाभ, ठगी र सम्पत्ति शुद्धीकरण समेतमा मुद्दा दायर गरिएको थियो ।

सहमतिमा शारीरिक सम्बन्ध राखेको विषयलाई हतियार बनाई पीडितलाई जबरजस्ती करणीको झुटो मुद्दा हाल्ने धम्की दिँदै करोडौँ रुपैयाँ ठगी गरेको र उक्त रकम नेपाल र चीनमा लगानी गरी संगठितरुपमै सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) समेत गरेको ठहर गर्दै प्रहरी प्रतिवेदनका आधारमा सरकारले अधिकारीविरुद्ध मुद्दा दायर गरेको थियो ।

हनी ट्र्याप अर्थात् आपराधिक लाभ, ठगी र सम्पत्ति शुद्धीकरणको कसुरमा मुख्य प्रतिवादी बनाइएकी टिकटकर नवलपरासीको सुनवल (बर्दघाट सुस्ता पश्चिम) घर भएकी ३२ वर्षीय तुलसा भन्ने तुलसी अधिकारी हुन् । आपराधिक लाभ लिने र संगठितरुपमा ठगी गर्ने कार्यमा संलग्न निलिका भन्ने नेलिका लामिछाने, मुकेश कुमार धानुका, दिल कुमारी लिम्बु र अशोककुमार अग्रवालको संलग्नता रहेको अभियोग पत्रमा उल्लेख छ ।

लोकपथलाई प्राप्त ४७५ पृष्ठ लामो अभियोग पत्रमा तुल्सीले कसरी बार्गेनिङ गर्ने गरेकी थिइन्, कसरी शंकर चिमोरियासँग रकम लिइन् र कहाँ कहाँ कति सम्पत्ति जोडिन्, कस कसलाई रकम दिइन् र उनको आपराधिक कार्यमा को कसको कस्तो संलग्नता थियो भनी खुलाइएको छ ।

तुलसीविरुद्ध ठगी, आपराधिक लाभ (एक्सटर्सन), आपराधिक विश्वासघात, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी पाँच कसुरमा अभियोग दायर गरिएको थियो । 

यस मुद्दाकी अर्की प्रतिवादी २८ वर्षीय निलिका (नेलिका) लामिछाने भने प्रहरीले पक्राउ गरी साधारण जमानतमा छाडिसकेको छ । उनीबाहेक अन्य ९ जना (मुकेश कुमार धानुका, दिल कुमारी लिम्बु, अशोक कुमार अग्रवाल, सपना वली, मेघनाथ बस्याल, कानो मामा भन्ने प्रयास पोखरेल, गंगा अधिकारी सुवेदी, तुल्सा कलेक्सन प्रालि र एक फरार प्रतिवादी माथि पनि कारबाहीको माग गरिएको छ ।

कसरी भयो ठगीको सुरुवात ?

जाहेरवाला अर्थात् पीडित शंकर चिमोरिया पेसाले अटो व्यवसायी हुन् । उनले गत साउन महिनामै प्रहरीमा दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । जाहेरी र जिल्ला अदालतमा पेस गरिएको अभियोग पत्रअनुसार २०७५ सालमा व्यावसायिक सम्बन्धका क्रममा शंकर र तुल्सीबीच चिनजान भएको थियो । त्यसक्रममा दुबैजनाको आपसी सहमतिमा शारीरिक सम्बन्ध भएपछि तुल्सीले सोही घटनालाई ‘जबरजस्ती करणी’मा फसाइदिने भन्दै ब्ल्याकमेल गरेर रकम असुल गर्न थालेको उल्लेख गरिएको छ ।

अभियोग पत्र अनुसार तुल्सीले ‘भनेजस्तो नगरे प्रहरीमा जबरजस्ती करणीको मुद्दा हाल्छु’ भन्दै डर त्रास देखाएर पटक पटक गरेर रकम लिएको उल्लेख छ । सुरुमा बुटवलमा भेट भई खाजा खाने बहानामा होटेलमा पुराएर शारीरिक सम्बन्ध राखिएपछि त्यसैलाई हतियार बनाएर रकम असुली गर्न थालिएको अभियोग पत्रमा उल्लेख छ ।

तुल्सीले कहाँ कहाँ रकम तिर्न लगाइन् ?

प्रहरीको अनुसन्धानले तुल्सीको संगठित ठगीको तरिका र घटनाक्रम समेत विस्तृतमा खुलाएको छ । उनले शंकरलाई सातदोबाटोमा ७ लाख ७५ हजार, इमाडोलमा लाख ७५ हजार र गहनाको पसल खोल्न २५ लाख तिराएको उल्लेख छ । त्यसैगरी पछि पनि पसलको भाडा आफूलाई नै तिर्न लगाएको जाहेरीमा उल्लेख छ र त्यसको प्रमाण समेत मिसिलसाथ संलग्न राखिएको छ । त्यसै गरी पछि कुमारीपाटीमा तुल्सा कलेक्सन प्रालिको पसलको डेकोरेसन र सात महिनाको भाडा गरी १५ लाख ९० हजार रुपैयाँ तिरेको अभियोग पत्रमा उल्लेख छ ।

त्यसै गरी तुल्सीले दबाबमा राखी ४ लाख ३४ हजार रुपैयाँमा एप्रिला स्कुटर किन्न लगाएको, तत्कालीन समयमै २४ लाख ४१ हजारको सुनको गरगहना किन्न लगाएको –जसको हालको मूल्य करिब ८६ लाख रहेको) पटक पटक गरी आइफोन लगायतका मोबाइल मात्रै १२ लाख ८८ हजार रुपैयाँको किनाएको, तुल्सीकी छोरी ….. न्यौपानेको विद्यालयको फी मात्रै ८ लाख ६९ हजार तिरेको तथ्य बैंक स्टेटमेन्ट र बिलबाट देखिएको पुष्टि भएको अभियोग पत्रमा उल्लेख छ ।

त्यसै गरी तुल्सीले भारत लगायतका देशमा पुगी सुरेन्द्र भक्त सुवाल, रविन श्रेष्ठ, बल बहादुर राउत क्षेत्री लगायतका व्यक्तिको बैंक खातामा रकम जम्मा गर्न लगाई ती रकमहरू हुन्डीमार्फत चीनमा पुर्‍याउने गरिएको भेटिएको अभियोग पत्रमा उल्लेख छ । यो रकम मात्रै १ करोड ४ लाख रहेको अभियोग पत्रमा उल्लेख छ ।

ठगी, आपराधिक लाभ र आपराधिक विश्वासघातमै ६ करोड ५२ लाखको बिगो

तुलसी अधिकारीले हनी ट्र्यापमा पारी जाहेरवाला शंकर अधिकारीलाई विभिन्न मितिमा तिर्न लगाएको रकम मात्रै ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ५४ पैसा रहेको अभियोग पत्रमा उल्लेख छ । यो रकम ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभबापतको कसुरमा कायम गरिएको बिगो रकम हो । सम्पत्ति शुद्धीकरणको बिगो भने २१ करोड १२ लाख २० हजार ४०६ रुपैयाँ १६ पैसा कायम गरिएको छ ।

६ करोड ५२ लाखको आपराधिक लाभ कसरी २१ करोडको बिगो बन्यो ?

तुल्सीले शंकर चिमोरियासँग गैरकानुनीरुपमा पटक पटक गरी लिएको ६ करोड ५२ लाख रुपैयाँ नै आफ्नो तथा आफन्त र अन्य व्यक्तिको नाममा रहेका १९ भन्दा बढी बैंक खातामा ‘प्लेसमेन्ट’ गरेको पाइएको छ । यसरी विभिन्न बैंक खातामा सारेर ‘लेयरिङ’ गरिएको, घरजग्गा, सुन, कम्पनी शेयर, लकर र विदेशमा लगानी गरेर ‘इन्टिग्रेसन’ गरिएको अभियोगपत्रमा उल्लेख छ । यसरी बैंक खातामा प्लेसमेन्ट र लेयरिङ गरिएको कारोबार रकम २१ करोड ७४ लाख रुपैयाँ रहेको छ । यसरी सम्पत्ति शुद्धीकरणको कसुरमा २१ करोड ७४ लाख रुपैयाँ बिगो कायम गरिएको हो ।

लोकपथले यसअघि निरन्तर तुल्सीसँग सम्बन्धित समाचार सामग्रीहरु प्रकाशन गरिसकेको छ ।

यसअघि प्रकाशित यी समाचारहरु हेर्नुहोस् :

तुल्सी अधिकारीले ६ करोड ५२ लाख रुपैयाँ आपराधिक लाभ लिएको कसुरमा मुद्दा दायर

तुल्सी अधिकारीको भैँसेपाटीमा ४ करोड बढीको घर : छोरी र आफ्नो नाममा करोड बैंक ब्यालेन्स

तुल्सीले भनिन्, ‘अन्तरंग फोटो र भिडियो खिचेको हो, नेपाल आएर प्रहरीमा सरेन्डर गर्छु’

तुल्सी अधिकारीको हनी ट्र्याप प्रकरण: कांग्रेस नेतृ लक्ष्मी खतिवडामाथि पनि मुद्दा दायर गरिने

तुल्सी अधिकारीमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान हुँदै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?