नेपाल टेलिकमले ल्यायो ‘आउटबाउन्ड आईभीआर’ सेवा, एकैपटक हजारौँलाई भ्वाइस म्यासेज पठाउन सकिने

लोकपथ
0
Shares

काठमाडौं । नेपाल टेलिकमले एकैपटक हजारौँ टेलिफोन तथा मोबाइल प्रयोगकर्तासम्म पूर्वरेकर्डेड सूचना तथा व्यावसायिक सन्देश पुर्‍याउन सकिने ‘आउटबाउन्ड आईभीआर’ सेवा व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको छ ।

कम्पनीले केही समयदेखि आन्तरिक प्रयोजनका लागि परीक्षण गर्दै आएको उक्त सेवा अब संस्थागत तथा व्यक्तिगत ग्राहकका लागि उपलब्ध गराएको हो ।

यो सेवामार्फत बढीमा एक मिनेटसम्मको पूर्वरेकर्डेड भ्वाइस सन्देश ठूलो संख्यामा प्रयोगकर्तासम्म एकैपटक पुर्‍याउन सकिने टेलिकमले जनाएको छ ।

आउटबाउन्ड आईभीआर सामूहिक सूचना प्रवाह प्रणाली हो । यसमार्फत परीक्षाको नतिजा, संस्थागत सूचना, सेवा तथा कार्यक्रमसम्बन्धी जानकारी, सार्वजनिक सूचना, प्रवर्द्धनात्मक सामग्रीलगायतका सन्देश छोटो समयमा धेरै व्यक्तिसम्म पुर्‍याउन सकिनेछ ।

सेवा प्रयोग गर्न चाहने कार्यालय, व्यवसायी वा अन्य सूचना प्रवाहकर्ताले फोन गर्नुपर्ने नम्बरहरूको सूची र सन्देशसहितको भ्वाइस फाइल नेपाल टेलिकमलाई उपलब्ध गराउनुपर्नेछ । निर्धारित प्रक्रिया पूरा भएपछि टेलिकमले उपलब्ध गराइएको नम्बरमा स्वचालित रूपमा कल गर्नेछ । कल उठेपछि प्रयोगकर्ताले पूर्वरेकर्ड गरिएको भ्वाइस सन्देश सुन्न सक्नेछन् ।

आउटबाउन्ड आईभीआरमार्फत कल गर्दा मोबाइल वा टेलिफोनमा सेवा प्रदायक वा ग्राहकको नाममा दर्ता भएको नम्बर नै कलर आईडीका रूपमा देखिनेछ । यसले सूचना प्राप्त गर्ने व्यक्तिलाई कल कुन संस्था वा सेवाप्रदायकबाट आएको हो भन्ने पहिचान गर्न सहज हुने टेलिकमले जनाएको छ ।

हाल सेवा लिन इच्छुक ग्राहकले नेपाल टेलिकमको दूरसञ्चार कार्यालय, सुन्धारामार्फत निर्धारित फारम भरेर सेवा लिन सक्नेछन् ।

नेपाल टेलिकमका प्रवक्ता डा। कमल लामिछानेका अनुसार नयाँ सेवाले संस्थागत तथा व्यक्तिगत ग्राहकलाई ठूलो संख्यामा प्रयोगकर्तासम्म सूचना पुर्‍याउन थप सहज माध्यम उपलब्ध गराएको छ । टेलिकमले आगामी दिनमा यस प्रकारको सेवाको माग बढ्दै जाने अपेक्षा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?