काठमाडौं । पुँजी बजार विश्लेषक प्रतिभा घिमिरेले नेपालको समग्र अर्थतन्त्रमा पुँजी बजारको भूमिका मेरुदण्डका रूपमा स्थापित हुँदै गएको बताएकी छन् ।
नेपाली कांग्रेसद्वारा आयोजित ‘नेपालको पुँजी बजारः आर्थिक लगानीको आधार’ विषयक संवाद कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै घिमिरेले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र बजार पुँजीकरणको अनुपातले पुँजी बजारको महत्व स्पष्ट पार्ने बताइन् ।
उनका अनुसार हाल नेपालको कुल जीडीपी करिब ६० खर्ब रुपैयाँ रहेको छ भने शेयर बजारको कुल बजार पुँजीकरण करिब ४६ खर्ब रुपैयाँ पुगेको छ । यस आधारमा नेपालको अर्थतन्त्रको करिब ७७ प्रतिशत बराबरको आकार पुँजी बजारले ओगटेको उनले उल्लेख गरिन् ।
घिमिरेले पुँजी बजारले अर्थतन्त्रलाई आवश्यक पर्ने दीर्घकालीन पुँजी उपलब्ध गराउनुका साथै सर्वसाधारणलाई कम्पनीको स्वामित्वमा सहभागी गराएर आर्थिक लोकतन्त्रको प्रत्याभूति गराएको बताइन् ।
कुल बजार पुँजीकरणमा बैंक तथा वित्तीय संस्थाको हिस्सा ५१ प्रतिशत रहेको उनले जानकारी दिइन् । त्यस्तै, जलविद्युत क्षेत्रको हिस्सा १६ प्रतिशत र अन्य क्षेत्रको हिस्सा ३३ प्रतिशत रहेको छ ।
विशेषगरी ऊर्जा क्षेत्रमा भएको प्रगतिमा पुँजी बजारको महत्वपूर्ण योगदान रहेको घिमिरेको भनाइ छ । उनका अनुसार कुनै समय नेपाल १८ घण्टासम्मको लोडसेडिङमा बस्न बाध्य भए पनि अहिले करिब ४ हजार मेगावाट विद्युत उत्पादन गर्दै ६०० मेगावाटसम्म निर्यात गर्ने अवस्थामा पुगेको छ ।
यो परिवर्तन निजी क्षेत्रको सहभागिताका कारण सम्भव भएको भन्दै उनले विद्युत उत्पादनमा निजी क्षेत्रको हिस्सा ८५ प्रतिशत रहेको बताइन् । पुँजी बजारले सर्वसाधारणको लगानीलाई राष्ट्रिय पूर्वाधार निर्माणसँग जोड्ने काम गरेको उनको भनाइ छ ।
घिमिरेले पुँजी बजार रोजगारी सिर्जना र राज्यको राजस्व संकलनको समेत महत्वपूर्ण स्रोत बनेको बताइन् । गत आर्थिक वर्षको तथ्यांक प्रस्तुत गर्दै उनले पुँजी बजारबाट राज्यले मासिक औसत १ अर्ब रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको जानकारी दिइन् ।
उनका अनुसार उक्त रकम मुलुकको कुल राजस्वको करिब १.५ प्रतिशत बराबर हो । पुँजी बजारले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा हजारौँलाई रोजगारी दिनुका साथै अर्बौं रुपैयाँ करमार्फत राज्यलाई योगदान पुर्याइरहेको भन्दै घिमिरेले यसलाई विकास र पूर्वाधार निर्माणको मुख्य आधारका रूपमा लिनुपर्नेमा जोड दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया