काठमाडौं । लक्जरी चिनियाँ विद्युतीय गाडी ब्राण्ड ‘स्काईवेल’ नेपालमा सार्वजनिक भएको छ । एलआरआर मोटर्सले नाडा अटो शो २०२६ को अवसर पारेर स्काईवेलको बीई ११ मोडल नेपालमा सार्वजनिक गरेको हो ।
कम्पनीले बीई ११ का ४ वटा भेरियन्ट नेपालमा ल्याएको छ । ४१० किलोमिटर रेन्ज दिने इन्ट्री भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ, कम्फर्टको ५५ लाख ९९ हजार रुपैयाँ र लक्जरी भेरियन्टको ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, ५२० किलोमिटर रेन्ज दिने भेरियन्टको मूल्य ६४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
नाडा अटो शो अवधिभर कम्पनीले विशेष छुट पनि दिएको छ । छुटपछि ४१० किलोमिटर रेन्ज दिने इन्ट्री भेरियन्ट ४६ लाख ९९ हजार, कम्फर्ट ५३ लाख ९९ हजार र लक्जरी भेरियन्ट ५४ लाख ९९ हजार रुपैयाँमा किन्न सकिनेछ । ५२० किलोमिटर रेन्ज दिने भेरियन्टको मूल्य भने ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
बीई ११ मा दुई प्रकारका ब्याट्री विकल्प छन् । ७१.९८ किलोवाट आवरको एनएमसी ब्याट्री भएको मोडलले एकपटक पूरा चार्ज गर्दा ५२० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ । त्यस्तै, ५१.९१ किलोवाट आवरको एलएफपी ब्याट्री भएको मोडलले ४१० किलोमिटर रेन्ज दिनेछ ।
कम्पनीका अनुसार डीसी फास्ट चार्जरबाट बीई ११ लाई ३५ मिनेटमै ७० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । दुवै भेरियन्टमा १५० किलोवाट क्षमताको मोटर रहेको छ ।
गाडीमा पानारोमिक सनरुफ, ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड सिट, ठूलो भित्री स्पेस र आधुनिक डिजाइनलगायतका सुविधा छन् । यसको ग्राउण्ड क्लियरेन्स १९८ मिलिमिटर रहेको छ ।
कम्पनीले उच्च ग्राउण्ड क्लियरेन्सका कारण बीई ११ नेपाली सडकका लागि उपयुक्त हुने दाबी गरेको छ । नाडा अटो शोमा स्काईवेलको स्टल ‘एच१९’ मा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया