महालक्ष्मी विकास बैंकद्वारा चाडपर्व लक्षित टुर प्याकेज सुविधा

लोकपथ
14
Shares

काठमाडौं । महालक्ष्मी विकास बैंकले आगामी चाडपर्वलाई लक्षित गर्दै आफ्ना ग्राहकका लागि क्रेडिट कार्डमार्फत सहज र सुरक्षित रूपमा टुर तथा भ्रमण प्याकेज खरिद गर्न सकिने सुविधा सुरु गरेको छ ।

बैंकले विभिन्न देश भ्रमण गर्ने नेपालीहरूको बढ्दो परम्परालाई ध्यानमा राख्दै यो सेवा अघि सारेको हो । यसका लागि बैंकले गुरु ट्राभल्स लिमिटेड, दरबारमार्ग र रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्स, उत्तरढोका, काठमाडौंसँग सहकार्य गरिसकेको छ ।

सम्झौता अनुसार, महालक्ष्मी विकास बैंकका क्रेडिट कार्ड वाहकले ट्राभल एजेन्सीमार्फत टुर प्याकेज खरिद गर्दा रकमलाई ६ देखि १२ महिनासम्मको लचिलो अवधिमा मासिक किस्तामा भुक्तानी गर्न सक्नेछन् । यस क्रममा मासिक किस्तामा रूपान्तरण गर्दा कुनै अतिरिक्त शुल्क लाग्ने छैन ।

बैंकले यस कदमले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने र चाडपर्वलाई अझ उत्साहमय बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेको छ । हालै मात्र बैंकले आफ्ना मोबाइल बैंकिङ एप ‘महालक्ष्मी स्मार्ट साथीमा भर्चुअल क्रेडिट कार्ड सुविधा थप गरेको छ ।

‘सबल बैंक, सफल सहकार्य’भन्ने नारासहित महालक्ष्मी विकास बैंकले हाल देशभर १०३ शाखामार्फत करिब ८ लाख ग्राहकलाई सेवा दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?