काठमाडौं । एक महिना पोखरा बसाइपछि आज दिउँसो काठमाडौं आउँदै गरेका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा विभिन्न राजावादी दल र संघ/संस्थाले काठमाडौंका विभिन्न स्थानबाट र्यालीसहित प्रदर्शनको तयारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
पूर्वराजा शाह अपराह्न ३ बजे हवाईमार्ग हुँदै पोखराबाट काठमाडौं आउने कार्यक्रम छ । त्यसअगावै समर्थकले प्रदर्शनको तयारी गरेपछि बिहान ११ बजेदेखि नै सुरक्षा व्यवस्था कडाइ पारिएको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार प्रदर्शनलाई लक्षित गर्दै नेपाल प्रहरीको काठमाडौं स्थित विभिन्न गण र गुल्मबाट थप मद्दत टोली तैनाथी गरिएको छ । उनीहरू ११ बजेदेखि नै तोकिएको स्थानमा तैनाथ भइसकेका छन् ।
यस्तै, काठमाडौंस्थित जिल्ला प्रहरी परिसरसहित सम्पूर्ण वृत्त र प्रभागका टोली आवश्यकताअनुसार विभिन्न ठाउँमा परिचालन भइसकेका छन् ।
यसैबिच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था थप कडा पारिएको छ । गोल्डेनगेटबाटै विमानस्थल प्रवेशमा कडाइ गरिएको छ । विभिन्न गन्तव्यमा जाने यात्रुको पहिचान गरेर मात्रै गोल्डेनगेटबाट प्रवेश दिइन थालिएको छ ।
उता, आज काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने अनुमान गरिएको छ । ट्राफिक महाशाखाका प्रमुख एसएसपी विनोद घिमिरेले आज दिउँसो तीनकुनेदेखि गौशालासम्मको सवारी आवागमन अस्तव्यस्त हुन सक्ने जनाएका छन् ।
महाशाखाले दिउँसो १२ बजेपछि नै सो रुटमा सवारी सवारी साधन प्रवेशमा रोक लगाउने तयारी गरिरहेको छ ।
तीनकुनेबाट गौशाला जानुपर्ने सवारी साधनलाई नयाँ बानेश्वर तर्फ डाइभर्ट गरिने भएको छ । चाबहिल–जोरपाटी जाने सवारी साधनलाई पेप्सीकोला, काँडाघारी हुँदै डाइभर्ट गरिने विषयमा छलफल भइरहेको छ ।
एक साता पोखरा बसाइपछि काठमाडौं आउन लागेका पूर्वराजा शाहको स्वागतमा विभिन्न राजावादी दल र संघ/संस्थाले काठमाडौंका विभिन्न स्थानबाट र्यालीसहित प्रदर्शनको तयारी गरेका छन् । त्यसक्रममा राजावादीहरूले धूमधाम स्वागत गर्ने तयारी गरेका छन् । राजावादीहरूले सडकका दुवै किनारमा उपस्थित भएर उनको स्वागत गर्ने भएका छन् । त्यसपछि पूर्वराजा शाह विमानस्थलबाट महाराजगन्जस्थित निर्मल निवास जानेछन् । राजावादीहरू पनि उनलाई पुर्याउन र्यालीसहित निर्मल निवाससम्म पुग्ने छन् ।
विशेषगरी राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालले आफ्ना कार्यकर्ताहरूलाई बेग्लाबेग्लै उतार्ने तयारी गरेका छन् । उनीहरूलाई राष्ट्रिय झन्डा, फूलमाला र पूर्वराजाको तस्बिर अंकित ब्यानर एवं पम्प्लेटसहित उपस्थित हुन भनिएको छ ।
यस्तै, दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, प्रसाईं समर्थित नागरिक प्रतिरक्षा बल (पीडीएफ), अनिल बस्नेत नेतृत्वको शिव सेना नेपाल, राष्ट्र शक्ति नेपाल, नेवाः एकता तथा नागरिक समाजलगायत पनि पूर्वराजा शाहको स्वागतमा सडकमा उत्रिने तयारीमा छन् ।
आजको कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन अनुपस्थित हुने. भएका छन् । राप्रपाबाट स्वागतको चाँजोपाँजो मिलाएका सांसद ज्ञानेन्द्र शाहीका अनुसार, ललितपुर, कीर्तिपुर, काभ्रे, भक्तपुर, नागार्जुनतर्फबाट आउनेहरूको र्याली तीनकुनेमा जम्मा हुने छ । त्यहाँबाट र्याली विमानस्थलतर्फ अगाडि बढ्ने छ ।
यसैगरी गोकर्णेश्वर, कागेश्वरी, शंखरापुर, बुढानीलकण्ठ, तारकेश्वर, धादिङ र नुवाकोट भएर आउनेहरु महाराजगन्ज, चाबहिल हुँदै गौशाला क्षेत्रमा भेला हुनेछन् । त्यहाँबाट र्याली विमानस्थलतर्फ अगाडि बढ्ने छ ।
यसैगरी विभिन्न समूहहरूले जावलाखेल, चापागाउँ, च्यासल, इमाडोल कृष्ण मन्दिर लगायतका स्थानबाट पनि र्याली निकाल्ने भएका छन् ।
राजावादीहरूको स्वागतमा विभिन्न दल र समूहहरू सडकमा उत्रिने भएपछि काठमाडौंको सुरक्षा प्रबन्ध चुस्त बनाइएको छ । भिड अनियन्त्रित हुन नदिन र अवाञ्छित क्रियाकलाप रोक्न सुरक्षाकर्मीहरूलाई ‘हाई अलर्ट’मा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया