काठमाडौं । सूर्यदेवको पूजा गरी मनाइने छठ पर्वको दोस्रो दिन आज शनिबार ‘खरना’ विधि मनाइँदै छ । चार दिनसम्म मनाइने छठ पर्वमा खरनालाई विशेष महत्त्वका साथ लिइन्छ ।
खरनाका दिन व्रतालुहरू दिनभर भोकै बसेर साँझ पूजा गर्छन् । त्यसपछि चामल, दूध र सक्खर मिसाएर बनाइएको खीर प्रसादका रूपमा खाने चलन छ । व्रतालुहरूले उक्त प्रसाद परिवारका सदस्य, छिमेकी तथा आफन्तलाई पनि बाँड्ने गर्छन् ।
शुक्रबार ‘नहाय–खाय’ विधिबाट सुरु भएको छठ पर्वमा पहिलो दिन व्रतालुहरूले स्नान गरी शुद्ध र सात्त्विक भोजन गरेका थिए ।
छठको तेस्रो दिन आइतबार मुख्य पूजा गरिनेछ । यस दिन व्रतालुहरूले बाँसका टोकरीमा फलफूल र पूजाका सामग्री राखेर नदी, पोखरी तथा जलाशयका किनारमा पुग्नेछन् । त्यहाँ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ। यसलाई ‘साँझको अर्घ्य’ भनिन्छ ।
त्यस्तै, पर्वको अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ व्रत सम्पन्न हुनेछ । यस विधिलाई ‘पारन’ भनिन्छ ।
छठ पूजामा बाँसबाट बनेका ढाकी, डग्री, माटाका भाँडा तथा अन्य सामग्री प्रयोग गरिन्छ। सूर्यदेवलाई ठकुवा, भुसुवा, केरा, उखु, नरिवल, अदुवा, बेसारलगायतका फलफूल र प्रसाद चढाउने गरिन्छ ।
छठ पर्वमा पूजाका सामग्री तयार गर्दा विशेष शुद्धता अपनाउनुपर्ने धार्मिक मान्यता छ । मुख्य पूजा र अर्घ्यपछि पारन नगर्दासम्म व्रतालुहरू करिब ३६ घण्टासम्म पानीसमेत नखाई उपवास बस्ने परम्परा छ ।
विशेषगरी तराई–मधेस क्षेत्रमा मनाइने छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा पनि उत्साहका साथ मनाउन थालिएको छ। पर्वका लागि नदी, पोखरी तथा जलाशयका किनारमा छठ घाट निर्माण र सजावट गरिएको छ ।
छठ पर्वको अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया