अब निजामती कर्मचारीले कार्यरत कार्यालयबाटै ई-पेन्सन सेवा पाउने

लोकपथ
0
Shares

काठमाडौं । निजामती कर्मचारीले अब आफू कार्यरत कार्यालयबाटै ई-पेन्सन सेवा पाउने भएका छन् ।

राष्ट्रिय निजामती किताबखानाको निर्णयअनुसार भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, विभाग र मातहतका कार्यालयलाई आफ्नै कार्यालयबाट ई–पेन्सन सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउन परिपत्र गरेको हो ।

किताबखानाले गत कात्तिक १ गतेदेखि ई-पेन्सन सेवा अनिवार्य रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो । यसअघि उपत्यकाबाहिरका कर्मचारीले जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयबाट यस्तो सेवा लिँदै आएका थिए ।

अब भने कर्मचारीले आफू कार्यरत कार्यालयबाटै निवृत्तिभरणसम्बन्धी सेवा लिन सक्नेछन् । यसका लागि सम्बन्धित कार्यालयले प्रशासन हेर्ने कर्मचारीको विवरण किताबखानामा पठाउनुपर्नेछ ।

किताबखानाले प्रशासन हेर्ने कर्मचारीको कर्मचारी संकेत नम्बर, नाम, पद, इमेल ठेगाना र सम्पर्क नम्बर माग गरेको छ । उक्त विवरणका आधारमा सम्बन्धित कार्यालयलाई ई–पेन्सन सेवा सञ्चालन गर्न आवश्यक प्रयोगकर्ता नाम र पासवर्ड उपलब्ध गराइनेछ ।

त्यस्तै, किताबखानामा दर्ता नभएका योजना तथा आयोजना कार्यालयको हकमा भने सम्बन्धित तालुक विभाग वा मन्त्रालयबाटै ई–पेन्सन सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?